असार–७, खोटाङको छितापोखरी गोगनेका स्थानीयबासीले आफ्नै पहलमा बिद्युत उत्पादन गरेका छन् । 
चन्दा तथा श्रमदानबाट छितापोखरी–८ गोगनेका स्थानीयबासीले ८ किलोवाट क्षमताको बिद्युत उत्पादन गरेका हुन् । 

स्थानीयबासीले चन्दा उठाएर तथा श्रमदान गरेर दिपज्योती ग्रामिण लघुजलबिद्युत आयोजनामार्फत गाउँमा बिजुली बालेको स्थानीय शिक्षक नरेन्द्र राई ‘निर्बीकार’ले जानकारी दिनु भयो । १६ लाख बराबरको लागतमा उत्पादन भएको विद्युतले गाबिसका ४० घरपरिवार, विद्यालय तथा संघसंस्था लाभान्बित भएका छन् ।
बिजुली उत्पादन गर्नकालागि स्थानीयबासीले प्रतिघर २२ हजारका दरले चन्दा दिएको र एक महिनासम्म श्रमदान गरेको शिक्षक राईले बताउनु भयो । ‘सरकारकै मुख ताकीरहेको भए अहिलेसम्म गाउँमा बिजुली बल्ने थिएन ।’ शिक्षक राईले भन्नु भयो,–‘समुदाय एकजुट बनेर आफै लागी परेकाले बिजुली बल्न सफल भयो ।’ 
आफ्नो एक्लो पहलमा बिद्युत उत्पादन भएपछि स्थानीयबासी पनि हर्षित बनेका छन् । बिजुली उत्पादन भएपछि गाउँमा कम्प्युटर, ल्यापटप, फ्रिज, फोटोकपी मेसिन लगायतका बिद्युतीय उपकरणहरु सञ्चालन गर्ने तयारी शुरु गरिएको उपभोक्ताको भनाई छ । 
बिजुली उत्पादन गर्ने स्थानीयबासीको अभियानलाई पूरा गर्नकालागि आमा समुहले एक लाख, स्थानीय एक क्लवले ५० हजार र गाबिसले ४० हजार आर्थिक सहयोग गरेको उपभोक्ता समितिले जनाएको छ । 
गत चैत्रदेखि शुरु गरिएको लघुजल विद्युत योजना तीन महिनामै पूरा गरिएको हो । बढि भएको बिजुली अन्य छिमेकी गाबिस तथा वडामा बिस्तार गर्ने तयारी गरिएको शिक्षक राईले जानकारी दिनु भयो ।