असार–९, खोटाङको सदरमुकाम दिक्तेलमा खुलेआमरुपमा घरायसी जाँडरक्सी बिक्रीबितरण हुन थालेपछि जिल्ला प्रहरी कार्यालयले बरामद गर्न थालेको छ ।
जिल्लामा सञ्चालित होटल तथा पसलहरुमा खेलेआमरुपमा जाँडरक्सी बिक्रीबिरतण हुन थालेपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले अवैध मदिरा बरामद गर्न थालेको हो । 
प्रहरीले सदरमुकाम दिक्तेलका होटल तथा पसलमा खुलेआम बिक्री बितरण भइरहेको अवस्थामा शनिबार करिब २५ लिटर घरायसी रक्सी बरामदगरि नष्ट गरेको छ । स्थानीय उत्पादनको मदिरा व्यापारीक प्रयोजनमा बिक्रीबितरण भैरहेको पाइएपछि बरामदगरी नष्ट गरिएको जिल्ला प्रहरी कायालय खोटाङका प्रहरी निरीक्षक दुर्गा रेग्मीले बताउनुभयो । 
जिल्लामा सञ्चालित होटल तथा पसलहरुमा निरन्तर अनुगमन गरेर  अवैध व्यापारलाई निरुत्साहित गर्ने उद्देश्यका साथ प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल बताउनुभयो । जिल्ला प्रशासनको अगुवाईमा जुनसुकै बेला पनि अनुगमन गरिने भएकाले म्याद नागेका सामान बिक्री बितरण नगर्न तथा नराख्न उहाँले व्यापारीहरुलाई आग्रह पनि गर्नुभएको छ । 
व्यापारीक प्रयोजन बाहेक स्थानीय रुपमा उत्पादित जाँडरक्सी घरायसी प्रयोजमान वार्षिक १२ लिटरसम्म उत्पादन गर्न पाइने कानूनीन व्यवस्था भएको कोष तथा लेखा नियन्त्रक तुलसीराम बस्नेतले बताउनुभयो । तर, जिल्लामा सञ्चालित होटल तथा पसलमा अत्यधिकमात्रामा अवैध रक्सी पाउने गरेको बस्नेतको भनाइ छ । उहाँले भन्नुभयो, ‘जिल्लाका अधिकांश होटल तथा मदिरा पसल बिनादर्ता सञ्चालनमा रहेकाले १५ दिनभित्र प्रक्रियामा आउन सञ्चालकलाई आग्रह गरेका छौं, यसका लागि साउन पहिलो हप्तासम्मको म्याद दिइएको र त्यसपछि पनि ईजाजत नलिई सञ्चालन गरे कडा कारबाही गर्नेछौं ।’
जिल्लामा अवैध रक्सी बिक्रीबितरण हुनेक्रम बढेसँगै अराजक गतिविधि समेत उत्तिकै बढेको छ । जाँडरक्सी खाएर होहल्ला गर्ने, अपशब्द बोल्दै हिँड्ने, गालीगलौज गर्नेजस्ताहरुको संख्या बढेको हो ।