असार–१२, खोटाङ सेवा समाज हङकङले खोटाङ सदरमुकाम दिक्तेलमा आँखा अस्पताल बनाउने भएको छ । 
रोजगारीका सिलसिलामा हङकङमा बसोबास गर्दै आएका खोटाङबासी युवाको पहलमा गठन भएको खोटाङ सेवा समाज हङकङले २० लाखको लागतमा आँखा अस्पताल बनाउने भएको हो । 
चार कोठा हुने अस्पतालको पक्की भवन निर्माणकालागि समाजका उपाध्यक्ष टिका राई ‘जेठा’ संयोजक र सहकोषाध्यक्ष धर्मराज राई सहसंयोजक रहेको आर्थिक सहयोग संकलन समिति गठन गरिएको समाजले जनाएको छ । 
सन् २०१४ भित्रमा अस्पतालका भवन निर्माण पूरा गर्ने र नेत्र ज्योती संघ दिक्तेललाई हस्तान्तरण गर्ने खोटाङ सेवा समाज हङकङका अध्यक्ष अधिराज राई ‘प्रकाश’ले जानकारी दिनु भयो । 
जिल्लाको बिकास निर्माणकालागि आर्थिक सहयोग गर्दै आएको समाजले खानीडाँडा बिमानस्थल, बुईपामा निर्माणाधिन खेलमैदान, एक दशकअघि दिप्सुङमा गएको पहिरो पिडितहरुको उद्धारकालागि आर्थिक सहयोग गरेको थियो ।