खोटाङ जेठ–१७, खोटाङको केपिलासगढी गाउँपालिकामा आयोजना गरिएको ४ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । हलेसी न्युज नेटवर्क प्रालिको आयोजना तथा सोही गाउँपालिकाको आर्थिक सहयोगमा गत १३ देखि १७ गतेसम्म सञ्चालित तालिम सम्पन्न भएको हो ।
गाउँपालिकाको केन्द्र बाक्सिला बजारमा आयोजना गरिएको तालिममा सातै वडाबाट कम्तीमा प्रबीणता प्रमाण तह अध्ययन पूरा गरेको २४ जना प्रशिक्षार्थी सहभागी थिए । ब्यक्तिहरुलाई सहभागी गराईएको आयोजकले जनाएका छन् । प्रालिको अध्यक्ष हरिबोल आचार्यको अध्यक्षता तथा गाउँपालिकाको उपप्रमुख हीराकुमारी बनको प्रमुख आतिथ्यमा उद्घाटन तथा समापन गरिएको तालिमको प्रमुख प्रशिक्षक कान्तिपुर दैनिकका उपसम्पादक डम्बरसिं राई रहनुभएको थियो ।
प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य समेत रहनुभएको स्वयम अध्यक्ष आचार्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रीय सदस्य केदार मगरले समेत तालिमको सहजीकरण गरेको आयोजकले बताएका छन् । यस्तै, नेपाल पत्रकार महासंघ खोटाङको उपाध्यक्ष रामधन राईले तालिम सहजकर्ताको भूमिका निर्वाह गरेको जनाईएको छ ।
वडा–वडामा पत्रकार उत्पादन गरी गाउँपालिकाको बिकास तथा सुशासन कायम गराउने उदेश्यले आयोजना गरिएको तालिम औचित्य र उपलब्धीमुलक रहेको औपचारिक कार्यक्रमको बक्ताहरुले जनाएका थिए । निकट भबिश्यमै पालिका स्तरको रेडियो सञ्चालन गर्ने सोंच बनाएर पालिका अघि बढिरहेको गाउँपालिकाले उल्लेख गरेको छ । समापन तथा उद्घाटन कार्यक्रममा उपाध्यक्ष बनका साथै प्रमुख प्रशासकीय अधिकृत महेश राई, स्थानीय जनप्रतिनिधि लगायतले बोल्नुभएको थियो ।
यसअघि, जिल्लाको खोटेहाङ र ऐसेलुखर्क गाउँपालिकामा समेत पत्रकारिता तालिम सम्पन्न भईसकेको छ । पत्रकार उत्पादन गर्ने अभियान स्वरुप नै जिल्लाको अन्य पालिकामा पनि आधारभूत पत्रकारिता तालिमको आयोजना गर्ने तयारी गरिएको हलेस् न्युज नेटवर्क प्रालिको अध्यक्ष आचार्यको भनाई छ ।