असार–२०, मार्कसिट नआउँदा खोटाङमा अझैपनि एसएलसी पुरक परीक्षाको फारम भर्ने काम शुरु हुन सकेको छैन । 
समयमा मार्कसिट नआउँदा एसएलसिको ‘रिजल्ट’ घोषणा भएको तीन हप्ता बितिसक्दा समेत जिल्लामा एसएलसी पुरक परीक्षाको फारम भर्ने काम शुरु हुन नसकेको हो । 
परीक्षा नियन्त्रण कार्यालयले मार्कसिट पठाउन ढिला गरेका कारण आउँदो साउन–१० गतेसम्म मात्र म्याद रहेको पुरक परीक्षाको फारम भर्ने काम अहिलेसम्म शुरु हुन नसकेको जिल्ला शिक्षा कार्यालय खोटाङले जनाएको छ । फारमकोसाथमा एसएलसिको मार्कसिटको फोटोकपी अनिवार्य संलग्न गर्नुपर्ने भएकाले मार्कसिट नआएसम्म फारम भर्न नसकिने शिक्षाको भनाई छ । मार्कसिट आइनसकेका कारण हालसम्म जिल्लाका पुरक परीक्षार्थीको संख्या पनि यकिन भएको छैन । यद्यपी, काठ्माडौंस्थित बिमानस्थलसम्म एसएलसिको मार्कसिट आइसकेको जानकारी आएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । एसएलसिको पुरक परिक्षा आगामी जेठ–२० गते देखि हुँदैछ । 
यस वर्ष खोटाङका ८६ सामुदायिक, दुई संस्थागत र एक खुल्ला गरी ८९ विद्यालयका चार हजार १२७ विद्यार्थीले परिक्षा दिएकामा ४७ जनाले उत्कृष्ट, १०७ ले प्रथम, ५१८ ले दोश्रो र ९३ जनाले तेश्रो श्रेणीमा उत्तिर्ण गरेका छन् । यस्तै, एक्जाम्टेडतर्फ एक हजार ९४५ मध्ये ३९ जनाले मात्र एसएलसि उत्तिर्ण गरेका छन् ।