असार–२४, खोटाङका छुट्टा–छुट्टै दुई स्थानमा बसपार्क निर्माण गरिने भएको छ । जिल्ला बिकास समितिको सभाहलमा आइतबार भएको सर्वपक्षीय बैठकले सदरमुकाम दिक्तेल–५ सोल्मा र दिक्तेल–४ आचार्य गाउँमा बसपार्क निर्माण गर्ने टुंगो लगाएको हो ।
बसपार्क बनाउनकालागि पहल तथा छलफल भएको झण्डै दुई वर्षपछि मात्र जिल्लामा बसपार्क निर्माण गर्ने स्थानको टुंगो लागेको हो ।
जिल्ला बिकास समितिका पदाधिकारी, राजनैतिक दलका नेता तथा कार्यकर्ताहरुको बैठकले यस आर्थिक वर्ष सोल्मामा र अर्को आर्थिक वर्ष आचार्य गाउँमा बसपार्क निर्माण गर्ने निर्णय गरेको जिल्ला बिकास समिति खोटाङले जनाएको छ । बैठकले सोल्मा–५ का रत्नबहादुर राई लगायतको समुहले निशुल्क दिएको २० रोपनी जग्गामा बसपार्क निर्माणकालागि पहिलो प्राथमिकता दिएको छ ।
लामो समयपछि जिल्लामा बसपार्क बनाउने स्थानको टुंगो लागेको हो । बसपार्कको अभावमा सदरमुकामका सडककै सवारीसाधनहरु पार्किङ गर्नुपर्ने बाध्यता छ ।