असार–२८, मलेसिया पुगेका कृष्णप्रसाद रिजालले सम्झौता अनुशारको तलव पाएका छैनन् । 
मासिक ९ सय रिंगेट पाउने सम्झौता अनुशार मलेसिया पुगेका खोटाङको नेर्पा–६ का कृष्णप्रसाद रिजालले सम्झौता अनुशारको तलव नपाउनु भएको हो । 
काठ्माडौंको ईन्टरनेशनल मेनपावर मार्फत मलेसियाको टिएसएल एसेम्ब्ली कम्पनीमा काम गर्न पुग्नु भएका रिजाललाई कम्पनीले मासिक ६ सय रिंगेट मात्र दिइरहेको उहाँका बुवा बेदनाथ रिजालले बताउनु भयो । कम्पनीले तलवबाट २ सय ८ रिंगेट ट्याक्स र ५० रुपैयाँ रिंगेट बिजुलीपानीको नाममा शुल्क कटाउने गरेको भन्दै बुवा बेदनाथले खोटाङमा रहेको सुरक्षित आप्रबासन परियोजना सुचना केन्द्र समक्ष छोराको उद्धारकालागि निबेदन दिनु भएको छ ।

रिजालले सम्झौता अनुशारको तलव नपाएको, सम्झौता विपरितको काममा लगाएको र काम गर्नेक्रममा दाहिने हातको बुढी औंलाको नङ झरेको भन्दै तत्काल उद्धारकालागि आग्रह गरेको सुचना केन्द्रका निमित्त कार्यक्रम संयोजक लोकमणी रिजालले जानकारी दिनु भयो । मेनपावरले ठगी गरेको भन्दै रिजालका बुवाले यथाशिघ्र उद्धारकालागि आग्रह गर्नुभएको निमित्त कार्यक्रम संयोजक रिजालले बताउनु भयो । 
नाताले दाई पर्ने नारायणप्रसाद रिजालमार्फत कृष्णप्रसाद गत जेठ–२६ गते मलेसिया पुग्नु भएको थियो । जनरल वर्करकालागि लगिएका रिजाललाई सम्झौता बिपरित सामान उठाउने काममा लगाएको सुचना केन्द्रले जनाएको छ । मलेसिया जाँदा अधिकतम ८० हजार रकम बुझाउनुपर्नेमा रिजालले १ लाख ३५ हजार बुझाउनु भएको रिजाल परिवारको भनाई छ ।