खोटाङ जेठ–१९, भिजिटिङ टिचरमार्फत समाचार लेखनका साथै क्षमता बिकास गराउने उदेश्यले खोटाङको एक वडास्थित बिद्यार्थीहरुलाई पत्रकारिता शिक्षण गरिएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित सबै बिद्यालयका बिद्यार्थीलाई भिजिटिङ टिचरमार्फत समाचार लेखनका विषयमा शिक्षण गरिएको हो ।
वडा शिक्षा समितिको शैक्षिक कार्ययोजना अनुसार शुक्रबार लफ्याङस्थित श्रीमाबि बाँसबोटेमा वडास्थित सबै बिद्यालयका कक्षा–५ देखि माबि तहका बिद्यार्थीलाई सहभागी गराएर समाचार लेखनका विषयमा शिक्षण गरिएको हो ।
छात्र÷छात्राको क्षमता बिकासका लागि अतिरिक्त क्रियाकलाप अन्तरगत पत्रकारिताका बिषयमा भिजिटिङ टिचर झिकाएर शिक्षणको व्यवस्था मिलाइएको वडा शिक्षा समितिका संयोजक तथा वडाध्यक्ष निर्मल राईले बताउनुभयो । समाचार लेखनका विषयमा नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई र रुपाकोट रेडियोका स्टेशन मेनेजर सुर्य तामाङले भिजिटिङ टिचरको भूमिका निर्वाह गरेका थिए । वडाका बिद्यार्थीलाई श्रीमाबि बाँसबोटेमा जम्मा गरेर समाचार लेखनका विषयमा शिक्षण गरिएको हो ।
उक्त वडा शिक्षा समितिले नेपाली र अंग्रेजीमा हस्त लेखन प्रतियोगिता, दैनिकी लेखन शिक्षण, प्रतिबेदन लेखन, फूलबारी निर्माण लगायतको कार्ययोजना बनाई कार्यान्वायनमा ल्याएको छ । समितिले भू–संरक्षण सम्बन्धी गोष्ठी, करेसाबारी निर्माण, योग शिक्षा सञ्चालन, शैक्षिक भ्रमण, स्थानीय जडिबुटी संकलन एबं प्रदर्शन, कृषि उपज बिक्री कार्यक्रम लगायतका कार्ययोजना तयार पारेका छन् ।
आफ्नै शैक्षिक कार्यायोजना बनाएर लागू गर्नेमा लफ्याङ जिल्लामै पहिलो भएको बताईएको छ ।
यसैबीच, सोही वडाले श्रीमाबि बास्बोटेलाई प्रोजेक्टर र ल्यापटप प्रदान गरेको छ । विद्यालयको शैक्षिक गतिविधिलाई प्रविधिमैत्री बनाएर पठन–पाठनलाई प्रभावकारी बनाउनका लागि वडा कार्यालयले प्रोजेक्टर र ल्यापटप प्रदान गरेको हो ।