साउन–६, खोटाङको डाँडागाउँ–२ बोफ्लुका स्थानीयबासी घरघरमा ल्याइएको धाराको पानी उपभोग गर्न पाएपछि हर्षित भएका छन् । 
स्थानीयबासीको श्रमदान तथा गोर्खा वेल्फेयर स्कीम खोटाङको आर्थिक सहयोगमा प्रत्येक घरमा व्यवस्थितरुपमा ल्याइएको धाराको पानी उपभोग गर्न पाएपछि हर्षित भएका हुन् । 
गोर्खा वेल्फेयर स्कीमको ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रम अन्तर्गत ३३ लाख ७३ हजार ११ रुपैयाँ आर्थिक सहयोग र स्थानीयबासीको १३ लाख ५ हजार एक सय ८५ रुपैयाँ बराबरको श्रमदानबाट ५७ वटा धारा निर्माण गरिएको छ । झण्डै तीन महिनामा निर्माण कार्य सम्पन्न भएको वोफ्लु खानेपानी तथा सरसफाई आयोजनाबाट ५६ घरका तीन सय २९ र एक विद्यालयका शिक्षक÷विद्यार्थीगरी करिब पाँच सय उपभोक्ता लाभान्वित भएका छन् । 
यसअघि कुवा, खोलाबाट ल्याइएको पाइप र परम्परागत धाराबाट आएको पानी खाँदै आइएकोमा योजनाले घरघरमा धारा निर्माण गरिदिएपछि आफूलाई सहज भएको उपभोक्ताहरुको भनाइ छ । खानेपानीको धारासँगै प्रत्येक घरमा वाटरसिल चर्पी, चाङ, जुठेल्ना र फोहोर फाल्ने खाल्डो समेत निर्माण गरिएको छ । 
आफ्नो गाउँमा खानेपानीको व्यवस्था मिलाइएसँगै प्रत्येक घरका उपभोक्ताको समय समेत बचत भएको उपभोक्ता समितिका अध्यक्ष मानबहादुर थापाले बताउनुभयो । अध्यक्ष थापाका अनुसार यसअघि खानेपानी ल्याउनका लागि लाग्ने समय आयआर्जनमा खर्च गर्न थालेका थालिएको छ । 
विभिन्न ६ वटा मुहानबाट उपलब्ध गराइएको खानेपानी आयोजना मर्मत तथा सम्भार गर्नका लागि स्थानीय ६ जनालाई तालिम समेत दिइएको आयोजना प्रमुख कृष्ण सुब्बाले जानकारी दिनुभयो । गाउँमा व्यवस्थित खानेपानीको अभाव भएपछि भूत पूर्व गोर्खा सैनिक शंखर तामाङको पहलमा आयोजना सञ्चालन गरिएको हो ।