साउन–७, नेपाली कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राईले मुलुकलाई ट्रयाकमा ल्याउनकालागि कांग्रेसको नेतृत्व आवश्यक रहेको बताउनु भएको छ ।
बिपी कोइरालाको ३१ औं स्मृति दिवसको अवशरमा हिजो नेपाली कांग्रेस गाउँ कार्य समिति दिक्तेलले सदरमुकाम दिक्तेलमा आयोजना गरेको ‘वर्तमान संक्रमण अवस्थामा बिपीको मेलमिलाप निती’ बिषयक बिचार गोष्ठीलाई सम्बोधन गर्दै सभापति राईले यस्तो बताउनु भएको हो । उहाँले लोकतान्त्रिक संबिधान निर्माण र आर्थिक संबृद्धिकालागि मुलुकमा कांग्रेसको बिकल्प नभएको बताउनु भयो ।
प्रमुख अतिथिकारुपमा सभापति राईले यथास्थितिबादी पार्टीहरुले कांग्रेसलाई उल्टै यथास्थितिबादीको संज्ञा दिने गरेको उल्लेख गर्नु भयो । ‘जुन पार्टीका कारण देश झन् असफलतातिर धकेलिँदैछ, त्यो पार्टीचैं कसरी प्रगतीशिल हुन्छ ?’–सभापति राईले प्रश्न गर्नु भयो । भावी कार्यक्रमहरु प्रष्ट बनाउन नसकेका कारण कांग्रेस दोश्रो पार्टी बन्न पुगेको उल्लेख गर्दै उहाँले बिपीको मार्ग दर्शक सिद्धान्तलाई अनुशरण गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रमका बक्ताहरुले बिपीले प्रतिपादन गरेको सिद्धान्तलाई स्वयं कांग्रेसका कार्यकर्ताहरुले भुल्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा कांग्रेस जिल्ला सदस्य सुमनबाबु आचार्य, क्षेत्रीय सभापति बिष्णुराज राई, नेपाल शिक्षक संघका अध्यक्ष शिबहरी ढकाल, संघका पुर्वअध्यक्ष राजनशेर राई लगायतले सम्बोधन गर्नु भएको थियो । कांग्रेसले जिल्लाका अन्य गाबिसमा पनि बिपी स्मृति दिवस मनाइएको जनाएको छ ।
आइतबार मुलुकभर नेपाली काङ्ग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३१ औं स्मृति दिवस मनाइएको छ । दिवसका अवसरमा नेपाली काङ्ग्रेस र उसको भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरेका छन् ।
नेपाली काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं. १९७१ साल भदौ २४ गते भारतको वनारसमा भएको थियो । उहाँ नेपाली राजनीतिमा बीपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको नामबाट परिचित हुनुहुन्थ्यो । जीवनभर प्रजातन्त्रका लागि लड्नुभएका कोइराला शालीन, सुझबुझ र गम्भीर चिन्तन, अदम्य साहसी नेता हुनुहुन्थ्यो ।
क्यान्सर रोगबाट थला पर्नुभएका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी कोइराला भारतीय नेताहरूसँगै जेल पर्नुभएको थियो । कोइरालाको नेतृत्वमा जहानियाँ राणाशासन हटाउन २००३ सालमा नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना भएको थियो । बीपी कोइरालाले २००७ सालमा १०४ वर्षे राणाशासनको विरुद्धमा भएको जनक्रान्तिको नेतृत्व गर्नुभएको थियो । नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बीपी तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वका रूपमा समेत चिनिनुहुन्थ्यो ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त प्रतिपादन गर्नुभएको कोइराला २०१५ सालमा भएको पहिलो संसदीय चुनावपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल हुनुभएको थियो । तत्कालीन राजा महेन्द्र शाहले प्रधानमन्त्रीबाट बर्खास्त गरी कोइारालालाई जेल राखेका थिए । उहाँ २०२५ सालसम्म आठ वर्ष निरन्तर जेलमै रहनुभयो । त्यसपछि भारत प्रवासमा रहनुभएका कोइराला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएको थियो ।
उच्च राजनीतिक छवि हुँदाहुँदै पनि उहाँले नेपाली साहित्यमा पु¥याउनुभएको योगदानलाई अतुलनीय मानिन्छ । कोइरालाको सुम्निमा, मोदी आइन्, बाबु, आमा र छोरा, नरेन्द्र दाई,तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा चर्चित छन् ।