साउन–७, सरकारले कर्मचारीको तलव बढाए लगत्तै खोटाङमा दैनिक उपभोग्यवस्तुको मूल्य वृद्धि गरिएपछि उपभोक्ता मर्कामा परेका छन् । सरकारले सरकारी कर्मचारीको तलव वृद्धि गरेसँगै सदरमुकाम दिक्तेलका व्यवसायीलेपनि दैनिक उपभोग्यवस्तुको मूल्य वृद्धि गराएपछि उपभोक्ता मर्कामा परेका हुन् । 
व्यवसायीहरुले सदरमुकाम दिक्तेलमा लाग्ने शनिबारे तथा बुधबारे हाटमा पाईने खाद्यान्न तथा तरकारीको मूल्य एक्कासी प्रतिकेजी ३० देखि ४० रुपैयाँले वृद्धि गराएको उपभोक्ताले जनाएका छन् । गत हप्ता प्रतिकेजी ८० देखि ९० रुपैयाँमा पाइने दालको मूल्य अहिले एक सय ४० रुपैयाँ पुगेको उपभोक्ता शान्ता राईले बताउनुभयो । राईका अनुसार प्रतिकेजी ६० देखि ७० सम्म पर्ने चामलको मूल्य ९० देखि एक सय २० रुपैयाँसम्म पु¥याइएको छ । 
उपभोक्ताहरुका अनुसार गत हप्तासम्म प्रतिकेजी ४० देखि ६० रुपैयाँमा पाइने गोलबेँडाको मूल्य एक सयदेखि एक सय ५० सम्ममा खरिद तथा बिक्री हुन थालेको छ । यस्तै, ६० देखि ७० मा पाइने काउलीको मूल्य एक सयदेखि एक २० रुपैयाँसम्म पुगेको छ । यस्तै, अन्य तरकारीको मूल्यपनि त्यही अनुपातमा वृद्धि भएको उपभोक्ताहरुले बताएका छन् । 
यसैबीच, हाट तथा बजारमा चामल, दाल र तरकारीको भाउ बढेसँगै सदरमुकाम दिक्तेलका होटल व्यवसायीहरुले खानाको मूल्यमा पनि एक्कासी वृद्धि गराएका छन् । आफुहरुले चर्को मूल्य तिरेर खाद्य वस्तुको सामग्री खरिद गर्नुपर्ने भएकाले खानाको मूल्य पनि वृद्धि गर्नुपर्ने अवस्था आएको होटल व्यवसायी जयप्रसाद राईले बताएका छन् । 
व्यापारी तथा होटल व्यवसायीले एक्कासी मूल्य वृद्धि गरेपछि आफूहरु चर्को मूल्य तिरेर उपभोग्यवस्तु खरिद तथा उपभोग गर्न बाध्य भएको उपभोक्ताहरुले बताएका छन् । व्यवसायीहरुले बिनाकारण मूल्य वृद्धि गर्दा समेत प्रशासन मौन रहेको उनीहरुको आरोप छ ।