साउन ७ । अनैतिक सम्बन्ध राखेको आरोपमा खोटाङमा बृद्धबृद्धा गाउँबाट निकालिएका छन् ।

अनैतिक सम्बन्ध राखेको झुट्टो आरोपमा नाताले सम्धी सम्धीनी पर्ने वाप्लुखा–४ का ६० वर्षीय बृद्ध निम्साङ शेर्पा र ६० वर्षीय बृद्धा सोनाम शेर्पा गाउँबाट निकालिएका हुन् ।

स्थानीय तेन्जी शेर्पा, पल्ले शेर्पा, निर्वु शेर्पा, रिङ्जे शेर्पा र फुर्दुकी शेर्पाले बृद्धबृद्धाहरुलाई अनैतिक सम्वन्ध राखेको आरोप लगाउँदै गाउँ निकाला गरेको इन्सेक खोटाङका प्रमुख डिएम चाम्लिङले जानकारी दिनु भयो । बृद्धबृद्धालाई एकैठाउँमा बसेको देखेपछि उनीहरुले अनैतिक सम्वन्ध रहेको आरोप लगाउँदै कागजमा सहीछाप गराएर गाउँ निकाला गरेका हुन् ।

इन्सेक प्रमुख चाम्लिङका अनुशार गत साउन–१ गतेदेखि गाउँ छाड्न समय सीमा दिइएका निम्साङ सोही दिनदेखि र सोनाम साउन–३ गतेदेखि वेपत्ता बनेका छन् ।

बृद्धबृद्धा बेपत्ता बनेको भन्दै उनीहरुका आफन्तहरुले झुट्टा आरोपमा गाउँ निकाला गर्ने पाँच व्यक्तीहरुलाई कारबाही गर्न माग गर्दै प्रहरी समक्ष उजुरी दिएको बताएका छन् । दोषीलाई कारबाहीकालागि पहल गरिदिनकालागि आफन्तले राष्ट्रिय मानवअधिकार आयोगको खोटाङस्थित उपक्षेत्रीय कार्यालयमा समेत उजुरी दिएका छन् ।