साउन–१७, कर्मचारीको लापारवाहीले खोटाङका एक युवा समस्यामा परेका छन् । जिल्ला प्रशासन कार्यालयले वितरण गरेको नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो नाम उल्लेख गर्नुपर्ने स्थानमा बुबाको नाम लेखिएपछि खार्मी गाविस–२ का २० वर्षीय धनबहादुर गुरुङलाई समस्या भएको हो ।

गत मङ्सिर २० गते उहाँको नाममा जारी भएको नागरिकताको प्रमाणपत्रको पछाडिपट्टी बुबा यमबहादुर गुरुङको नाम लेखिएको छ । कर्मचारीको सानो त्रुटीको कारण उहाँले दोहो¥याएर नागरिकता लिनुपर्ने बाध्यता बनेको छ । गुरूङको नागरिकताको प्रमाणपत्रमा नि. वर्तमान सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले हस्ताक्षर गरेका छन् ।
वैदेशिक रोजगारीमा जाने उद्देश्यले एमआरपी (राहदानी) को फारम भर्ने क्रममा दिक्तेल आएको समय नागरिकतामा त्रुटी भएको पत्ता लागेको हो । पुनः प्रतिलिपी नागरिकता लिन उहाँलाई सुरुदेखीकै प्रक्रिया अघि सार्नुपर्ने अवस्था आएको छ ।

उहाँको नागरिकताको प्रतिलिपीमा नेपालीबाट उहाँको नाम र अंग्रेजीबाट बुबाको नाम लेखिएको छ । खोटाङमा पछिल्लो समय नागरिकता, राहदानी (एमआरपी) मा हुने सामान्य गल्तिले सर्वसाधारणहरु समस्यामा पर्दै आएका छन् । कतिपय अवस्थामा पुरा नाम नलेखिएको, जन्ममिति उल्लेख नगरिकएको, केरमेट गरिएको आदि कारणले गर्दा सेवाग्राहीहरुलाई समस्या थपिदै आएको छ ।

जिल्ला प्रशासन कार्यालयमा दक्ष कर्मचारीको अभाव हुँदै जाँदा काममा त्रुटी भेटिदै आएको सेवाग्राहीको गुनासो छ । दक्ष कर्मचारीको अभावले कार्यालय सहयोगीले समेत नागरिकता, पासपोर्ट लगायतका सम्बेदनशिल फाँटमा काम गरिरहेको उनीहरुले बताएका छन् ।