साउन २० । रोगका कारण उत्पादन घटेपछि खोटाङमा यस वर्ष गोलबेँडाको मूल्या आकाशिएको छ ।

डढुवा रोगका कारण जिल्लामा गोलबेँडाको उत्पादन घटेपछि मूल्या आकाशिएको हो । अघिल्लो वर्ष स्थानीय हाटबजारमा बढिमा प्रतिकेजी ७० रुपैयाँसम्ममा किनबेच भएको गोलबेँडाको मूल्या यस वर्ष प्रतिकेजी एक सयदेखि १२० रुपैयाँसम्म पुगेको छ ।

गत वर्ष एउटै प्लाष्टिक घरमा उत्पादन भएको गोलबेँडाबाट ६० हजार आम्दानी भएकोमा यस वर्ष रोगका कारण ५ हजारमात्र आम्दानी भएको दिक्तेल–५ का गोलबेँडा कृषक नारायण मुग्रातीले बताए । जिल्लाको दिक्तेल, बाम्राङ, खाल्ले, नेर्पा लगायतका गाबिसका किसानले टनेलमा व्यवसायीक गोलबेँडा खेती गर्दै आएका छन् । डढुवा रोगका कारण यसपल्ट गोलबेँडाका टनेल घरहरु खाली बनेका कृषि बन तथा वाताबरण समिति दिक्तेलका सचिव रहेका जेटिए गंगा बिश्वकर्माले बताए ।

उत्पादन घटेपछि स्थानीय हाटबजारमा गोलबेँडाको अभाव भएको उपभोक्ताहरुको भनाई छ ।