साउन–२१, फूल कुहिने समस्यका कारण खोटाङमा यस वर्ष अलैंची उत्पादनमा कमी आउने भएको छ ।
अधिक वर्षाले अलैंचीको फूल कुहिएका कारण जिल्लामा अलैंची उत्पादनमा कमी आउने अलैंची कृषक संघ खोटाङले जनाएको छ ।
अघिल्ला वर्षसम्म खडेरीका कारण प्रभाबित हुनेगरेको अलैंची यस वर्ष अधिक वर्षाका कारण प्रभाबित भएको याम्खा–१ बार्लङ्गका कृषक दिपबहादुर राईले बताउनुभयो ।
फुल्ने समयमा परेको भारी वर्षाका कारण जिल्लाको फेदी, पाथेका, खार्ताम्छा, मात्तिम, टेम्मा, याम्खा, बास्पानी, बाक्सिला, रतन्छा, बाँझेच्यानडाँडा, नेर्पा, दोर्पा, सावाकटहरे, वाप्लुखा, लिकुवापोखरी, खिदिमा, डाँडागाउँ, छोरम्बु लगायत दुई दर्जनबढी गाविसमा लगाइएको अलैंचीको फूल तथा बोट कुहिने समस्य देखा परेको कृषकहरुको भनाई छ ।
जडीबुटीकारुपमा प्रयोग हुने अलैंची प्रायः असार र साउनमा फुल्ने गर्छ । फुल्ने समयमा परेको भारी वर्षाका कारण यस वर्ष अलैंचीको फूल कुहिने र फल कम लाग्ने कृषक राईको भनाई छ । 
वर्षाका कारण एउटा थुंगामा एक वा दुई गोटी मात्र फल लागेकाले अलैंचीको उत्पादनमा दोब्वर र्‍हास आउने टेम्मा–८ का अर्का कृषक भिम राईले बताउनुभयो ।
पछिल्लो समय जिल्लाको प्रमुख नगदेबालीकारुपमा उत्पादन हुँदै आएको अलैंची उत्पादनमा कमी आउने भएपछि अलैंची कृषकहरु निराश बनेका छन् । 
कृषि बिकास कार्यालयका अनुशार जिल्लाबाट प्रतिवर्ष ६ सय मेट्रिक टन अलैंची निकासी हुने गरेको छ । कार्यालयका अनुसार जिल्लाको ८ सय हेक्टर क्षेत्रमा अलैंची खेती गरिँदै आइएको छ ।
अन्य बाली भन्दा सहज र उत्पादनशिल बाली भएकाले कृषकहरु केही वर्ष अघिदेखि अलैंची खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत बिधिबाट अलैंची खेती गर्दै आएका किसानहरुको नयाँ प्रविधिबाट अलैंची खेती गर्ने सीप तथा तालिमको व्यवस्था नभएको गुनासो छ ।