साउन-२२, खोटाङको सदरमुकाम दिक्तेल नजिक रहेको मनमायाँ राई खानीडाँडा विमानस्थलमा महिना दिनअघिदेखि उडान बन्द भएपछि सर्वसाधारण मारमा परेका छन् ।
लगातारको वर्षाका कारण धावन मार्ग हिलाम्मे हुनुका साथै खाल्डाखुल्डी भएसँगै गत असार दोश्रो हप्तादेखि उडान बन्द गरिएपछि सर्वसाधारण मारमा परेका हुन् ।
सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने विमानस्थलमा वर्षाका कारण हिलो जमेपछि नेपाल एयरलाईन्स, अग्नी र तारा एयरलाईन्सको उडान बन्द गरिएको विमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनुभयो ।

वर्षामा पसेको भलबाढीले धावनमार्ग अवरुद्ध बनाएपछि विमानस्थाल मर्मत तथा संभार गर्नुका साथै कालोपत्रेको काम पनि भइरहेकाले आगामी असोजसम्मका लागि उडान बन्द गरिएको विमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

जिल्लाका तीन वटा विमानस्थलहरुमध्ये सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने खानीडाँडा विमानस्थलमा उडान बन्द भएपछि जिल्ला अस्पतालबाट रेफर गरिएका विरामीहरु बढी मारमा पर्ने गरेको सर्वसाधारणको गुनासो छ ।
उडान बन्द भएसँगै अस्पतालबाट रेफर गरिएका विरामीका लागि चर्को मुल्य तिरेर हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता रहेको सप्तेश्वरछितापोखरी–६ का बाबुराम कार्कीले बताउनुभयो ।
जिल्लाका लामीडाँडा र थामखर्क विमानस्थल सदरमुकाम दिक्तेलदेखि टाढा भएपछि साउन महिनामा मात्र ६ पटक हेलिकोप्टर चार्टर गरिसकिएको छ । उपचार गराउन जिल्ला अस्पताल आउने सामान्यदेखि जटिल किसिमका बिरामीलाई अस्पतालले रेफर गरिदिएपछि एक लाख २० हजारदेखि एक लाख ५० हजारसम्ममा हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता छ ।
खोटाङ भौगोलिक बिकटता भएको जिल्ला भएकाले सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै कोलोपत्रेको कामलाई अवरोध नपुग्नेगरि उडानलाई निरन्तरता दिन निर्माण उपभोक्ता समितिलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी दिनपकराज नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ठूलो मात्रामा हेलिकोपटर चार्टर गर्नुपर्ने बाध्यता भएकाले धावन मार्ग बाहेकका ठाउँमा काम हुँदै गर्दा उडान भर्ने वातावरण मिलाउन भनेको छु ।’