साउन–२६, गाउँलेहरुलाई अनावश्यक दुःख दिएको भन्दै नेकपा–माओवादी खोटाङले एकै परिवारका चार दाजुभाइलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । 
अन्य किसानहरुलाई दुःख दिएको भन्दै डुम्रेधारापानी गाविस–९ का ६० वर्षीय चन्द्रसिं बस्नेत सहित बाबुराम बस्नेत, नीरकुमार बस्नेत र राजकुमार बस्नेतलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो ।
खोलाको बगर बिराएर खेत बनाउने डुम्रेधारापानी गाविस–५ का किसानहरु तुलबहादुर मगर, डिल्लीबहादुर मगर, सिताराम बस्नेत, रामकुमार विश्वकर्मा र रत्नबहादुर पौडेललाई पार्टीले उक्त जग्गा वितरण गरेको र सोही विषयलाई लिएर उनीहरुले किसानहरुलाई पटक–पटक दुःख दिने काम गरेको भन्दै आगामी दिनमा विभिन्न बाहानामा किसानलाई दुःख दिए कडा कारवाही गर्ने धम्की दिएको छ । 
शनिबार एक विज्ञप्ती प्रकाशित गर्दै माओवादीले यस्तो धम्की दिएको हो । विज्ञप्तीमा माओवादी खोटाङका जिल्ला इञ्चार्ज ध्रुब बुढाथोकी ‘धिरेण’ र सेक्रेटरी सुनिल चौलागाईले हस्ताक्षर गरेका छन् । माओवादीले विज्ञप्तीमा भनेका छन् –‘असार ७ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा भएको सहमति चन्द्रसिं बस्नेतले उलंघन गरेकाले कडा कारबाही गर्ने छौं ।’
उक्त समय जिल्लाबाट अमिनी लगेर जग्गाको नाप लिएपछि कामगर्ने किसान र चन्द्रसिंको परिवारले आधा–आधा जग्गा पाउने सहमति भएको थियो । माओवादीले उक्त जग्गालाई जसको जोत उसको पोतको आधारमा क्रान्तिकारी भूमिसुधारको नीति लागू नहुँदासम्म सम्बन्धित किसानहरुले कजाइ खानेगरि पार्टीकै कब्जामा रहने जनाएको छ । 
रावाखोला किनारामा रहेको उक्त जग्गा खोलामा आएको बाढीले बनाएको बगर बिराएको करिब ४० रोपनी ऐलानी जग्गामा माओवादीले गत वैशाख २३ गते पार्टीको झण्डा गाडि कब्जा गरेको जनाएको थियो । उक्त जग्गा विवादित भएको र राज्यले विवाद समाधान नगरेसम्म कब्जा गरिरहने माओवादीले बताउँदै आएको छ ।