साउन–२९, नचिनिएको व्यक्तिबाट खोटाङमा एक बालिका बलात्कृत भएकी छिन् । 

राखाबाङ्देल–९ की विश्वकर्मा थरकी ४ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।
घरमा कोही नभएको समयमा दिउसो करिब ३ बजेतिर बालिका बलात्कृत भएको आफन्तले जनाएका छन् । केटाकेटीमात्र छाडेर पर्म गएको समयमा सँगै खेलिरहेका अन्य बालबालिकालाई लखेटेर आफ्ना ४ वर्षीया छोरीमाथि बलात्कार गरेको पीडित बालिकाकी आमाले बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘आफ्ना तीन छोरीलाई घरमा छाडेर छिमेकीको पर्म गएकी थिएँ, आउँदा रगतपच्छे भएकी रहिछिन् ।’ उहाँले थप्नुभयो, ‘छोरीको संवेदनशिल अंगबाट रगत बगिरहेको देखेपछि बलात्कृत भएको थाहाँ पाएँ ।’
आफ्नो छोरी बलात्कृत भएको थाहा पाएपछि बलात्कृत बालिकाकी आमा छारीसँगै कानूनी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय आउनुभएको छ । उहाँले तत्काल दोषी पत्ता लगाइ कानूनी कारबाही र पीडित बालिकालाई औषधिउपचारको व्यवस्था गराइ पाउँ भन्दै प्रहरी समक्ष निवेदन दिनुभएको छ ।
उहाँले दिनुभएको निवेदनमा नचिनिएको व्यक्तिको हुलिया कालो वर्ण, कपाल लामो र अग्लो शरीर छ । निवेदन परेसँगै बलात्कारीको खोजी कार्यलाई तिब्रता दिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले बताउनुभएको छ । 
पछिल्लो समय जिल्लामा साउन महिनामा मात्र तीनवटा बलात्कारको घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्दा शाखाका प्रहरी नायव निरीक्षक यादव गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जनालाई तत्काल पक्राउगरि जबरजस्ती करणी अन्तर्गतको मुद्दा चलाइएको छ । 
यस्तै, २०७० साल असार–२८ गते नौं वर्षीया बालिकालाई बलात्कार गर्ने राखा–४ का २६ वर्षीय जापान राई र २०६९ साल कात्तिक–६ गते ६५ वर्षीया वृद्धालाई बलात्कार गर्ने चिसापानी–४ का तोयानाथ कोईराला हालसम्म फरार छन् । उनीहरु दुवै जनाको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ । 
उता, प्रहरी प्रशासनले दोषीलाई खोजीगरि कानूनी कारबाहीमा ल्याउन नसकेको प्रति महिला अधिकारकर्मीहरुले आपत्ती जनाएको छ । प्रयाप्त आधार हुँदाहुँदै पनि दोषी पहिचानमा प्रहरी प्रशासनले आनाकानी गरिरहेको उनीहरुले आरोप लगाएको छ ।