खोटाङ साउन–१५, खोटाङको साकेला गाउँपालिका–५ मातिमलाई केन्द्र बनाई आईतबार बिहान ८ बजेर १३ मिनेटमा गएको भुकम्पबाट ठूलो क्षति भएको छैन । ६ म्याग्निच्युडको भुकम्पबाट केही घर चर्कनु बाहेक अन्य क्षति नभएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले बताउनुभयो ।

भुकम्पको केन्द्रविन्दु मानिएको मार्तिमविर्तामा २ वटा घर, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा १ घर र महादेवस्थानमा १ घर चर्किएको छ । कुनै घर चर्केको र कुनै घरको टायल खसेको छ प्रजिअ सेडांईको भनाई छ । भुकम्पबाट मानवीय तथा पशुचौपायको क्षति भएको छैन ।

क्षति संकलनका लागि गाउँपालिकाको सबै शक्ति परिचालित गरिएको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो । भुकम्पको क्षति संकलनका लागि सबै वडा समितिलाई परिचालित गरिएको र कार्यपालिकाका सम्पूर्ण अंगहरुलाई नागरिकको सहयोगका लागि परिचालित गरिएको गरिएको राईले सुनाउनुभयो । यस्तै, हलेसी तुवाचुङ नगरपालिका लगायतका स्थानीय तहहरुले पनि क्षति बिवरण संकलन गरिरहेको जनाएका छन् ।

भुकम्प लगत्तै आईलाग्न सक्ने बिपद् ब्यवस्थापनको लागि नेपाली सेना, नेपाल प्रहरी लगायतलाई सतर्क रहन निर्देशन दिएको जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक प्रजिअ सेढाईको भनाई छ । विपद् व्यवस्थापनमा सतर्कताका लागि रेडक्रस, जिल्ला समन्वय समिति लगायत स्थानीय तहसँग समेत समन्वय भईरहेको जनाईएको छ ।।
जिल्लामा पटक–पटक साना साना पराकम्पन गईरहेको छ ।