खोटाङ साउन–१५, खोटाङमा लगातार भुकम्पको पराकम्पन गईरहेपछि जिल्लाबासी त्रसित बनेका छन् । आईतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङकै साकेला गाउँपालिका–५ मात्तिम केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प गएपछि पटक–पटक पराकम्पन गईरहेको हो ।

भुकम्पको पराकम्पन जाने क्रम नरोकिएपछि जिल्लाबासी होहल्ला गर्दै घर बाहिर निस्किरहेका छन् । जिल्लामा केही घर चर्कनुको बाहेक अन्य क्षतिको बिबरण हालसम्म नआएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले बताउनुभयो । हाल क्षतिको बिबरण संकलन भईरहेको प्रजिअ सेढाईको भनाई छ ।

भुकम्प लगत्तै आईलाग्न सक्ने बिपद् ब्यवस्थापनको लागि नेपाली सेना, नेपाल प्रहरी लगायतलाई सतर्क रहन निर्देशन दिएको जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक प्रजिअ सेढाईको भनाई छ ।

विपद् व्यवस्थापनमा सतर्कताका लागि रेडक्रस, जिल्ला समन्वय समिति लगायत स्थानीय तहसँग समेत समन्वय भईरहेको जनाईएको छ ।