खोटाङ  जेठ–२०, पाठ्यक्रम निर्माण गरी यही शैक्षिक सत्रदेखि पहिलो पटक पठनपाठन शुरु गरिएको थुलुङ राई भाषाको पाठ्य सामाग्री ब्यवस्थापनको लागि आर्थिक समस्या भएको छ । खोटाङ, सोलुखुम्बु र ओखलढुंगाका २७ बिद्याालयमा पठनपाठन भईरहेको उक्त भाषाको कक्षालाई प्रभाबकारी र ब्यवस्थित बनाउन आवश्यक पाठ्य सामाग्री निर्माण तथा ब्यवस्थापनमा समस्या भएको हो । 
आफ्नो मातृभाषामा पठनपाठन गर्न र गराउन शुरु भएपछि बिद्यार्थी तथा अभिभाबकहरु उत्साहित भए पनि पाठ्यक्रममा निर्धारण गरिएको पाठ्य सामाग्री ब्यवस्थापनमा आर्थिक समस्या भएको थुलुङ राई भाषा पाठ्यक्रम बिकास केन्द्रका सदस्य पदम थुलुङ राईले जनाउनुभयो । हाल पठनपाठन भईरहेको शिशु र १ कक्षाका बिद्यार्थीका लागि पाठ्यक्रममा उल्लेखित ब्याकरण, शब्दकोष र राईम्स अर्थात बालगीत निर्माण लगायत थप ब्यस्थाका लागि रकम अभाव भएको थुलुङको भनाई छ ।  
शुरुमा पाठ्यपुस्तक तयार पार्दाको ऋण मात्रै तीन लाख रुपैंयाँ रहेकोमा तत्कालै ७ लाख हाराहारी रकम अभाब रहेको पाठ्यक्रम बिकास केन्द्रले जनाएका छन् ।  
मातृभाषा अर्थात नयाँ कुरा भएकोले बिद्यार्थीले चाख दिएर अध्ययन गर्ने गरेको सहभागी शिक्षक शिक्षिकाको भनाई छ । आफ्नै भाषामा बालबच्चालाई पढाउन पाउँदा अभिभाबकहरु समेत दंग पर्ने गरेको खोटाङस्थित ऐसेलुखर्क गाउँपालिका– ६ स्थित शान्तोदया माबिको शिक्षिका प्रतिका थुलुङले बताउनुभयो । 
मातृभाषाको प्रभाबकारी पठनपाठनको लागि सबैबाट सहयोगको अपेक्षा गरिएको केन्द्रको संयोजक खुक्सङ खम्बुले यस अघि नै बताउनुभएको थियो । 
पछिल्लो जनगणना अनुसार नेपालमा करिब २० हजार थुलुङ रहेको भनिए पनि ६० हजार थुलुङ राई रहेको दाबी गर्ने गरिएको छ । स्थानीय तह कार्यान्वयनपछि विभिन्न भाषाभाषीमा पठन–पाठनको बाटो खुलेका छन् ।