भदौ–२, लोकसेवा आयोगको परीक्षा दिएर फर्कनेक्रममा खोटाङमा सात परीक्षार्थी कुटिएका छन् । लोकसेवा आयोग अन्तरगत अहेव र अनमीको परीक्षा दिएर फर्कनेक्रममा जाजरकोट, रुकुम, सल्यान र पर्साका परीक्षार्थीहरु खाल्लेस्थित मनोमायाँ राई खानीडाँडा बिमानस्थलमा कुटिएको प्रहरीले जनाएको छ । 
अनमीको बिहिबार र अहेवको शनिबार भएको परीक्षा दिएर फर्कनेक्रममा जाजरकोट टालेगाउँ–१ का दिकपाल सिं र अमृता सिं, पुन्मा–१ का केशव नेपाली, भुर–५ का गोपाल कार्की, पुन्मा–७ का गंगाबहादुर चन्द, पर्सा सुनवर्षा–८ का सन्तोष चौधरी र रुकुम पोखरा–९ का मोहन केशी कुटिएको खोटाङका प्रहरी नायव उपरीक्षक गोविन्द साहले बताउनुभयो । अनुहार र शरीरका बिभिन्न ठाउँमा चोट लगेका घाइतेहरुको अवस्था सामान्य रहेको छ । 
१७ परीक्षार्थी कुटपिटका मुख्य योजनाकार खाल्ले–३ का २४ वर्षीय युवराज दाहाल खत्री र १९ वर्षीय महेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ । दाहाल र राईविरुद्ध सार्वजनिक मुद्धा चलाइएको प्रहरी नायव उपरीक्षक साहले जानकारी दिनुभयो । उनीहरुसँगै पक्राउ परेका अन्य ११ जनालाई सोधपुछपछि प्रहरीले छाडेको छ । प्रहरीका अनुशार कुटपिटमा संलग्न दुई जना भने फरार छन् । 
मादक पदार्थ सेवन गरेका दाहाल र राईको समुहले आफुहरुलाई सामान्य विषयमा कुटपिट गरेको रुकुम पोखरा–९ का मोहन केशीले बताउनुभयो । परिक्षार्थीहरुले दुई तोला सुनको सिक्री र नगद २१ हजार लुटिएको प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ । प्रहरीले सुरक्षा दिएर परीक्षार्थीहरुलाई घर फर्कने व्यवस्था मिलाएको छ । परीक्षार्थीहरुले शुरुमा आफुहरुमाथि लुटपाट भएको बताएपनि उनीहरुमाथि लुटपाट नभइ कुटपिट भएको प्रहरीले बताएको छ ।