भदौ–६, खोटाङका एक कार्यालय प्रमुखमाथि कुटपिट गरिएको घटनालाई प्रमुख जिल्ला अधिकारीको दवावमा मिलापत्र गराइएको भन्दै जिल्लामा चौतर्फी बिरोध शुरु भएको छ । 
पूर्वाञ्चल सिँचाइ सब डिभिजन कार्यालय खोटाङका प्रमुख एकराज भट्टराईमाथि एमाले सम्वद्ध युवा संघका केन्द्रीय सदस्य दिलचक्र राई तथा जिल्ला सदस्यद्धय हरि गुरुङ र खेमराज देउसालीबाट कुटपिट गरिएको घटनालाई प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले मिलापत्र गराएको भन्दै बिरोध शुरु भएको हो । 
कार्यालय प्रमुख भट्टराईमाथि सोमबार साँझ कुटपिट गर्ने समुहलाई कानूनी कारबाही गर्नुको सट्टा प्रमुख जिल्ला अधिकारीले संरक्षण गरी उन्मुक्ति दिएको भन्दै विभिन्न ट्रेड युनियन कर्मचारी संगठनहरुले विरोध जनाएका छन् । नेपाल निजामती कर्मचारी यूनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठन खोटाङले संयुक्त विज्ञप्ती प्रकाशित गरी पीडितलाई दवाव दिएर मिलापत्र गर्न बाध्य बनाइएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । 
‘कार्यालय प्रमुखमाथि सांघातिक आक्रमण गर्ने अराजक समुहलाई कारबाही गर्ने र सजाय दिन सक्ने वाताबरण नभएबाट जिल्लाका कर्मचारीको मनोबल गिराउने काम भएको छ ।’ दुई कर्मचारी संगठनले जारी गरेको संयुक्त विज्ञप्तीमा भनिएको छ,–‘अराजक समुहको गुण्डागर्दीलाई निस्तेज नपारेसम्म कुनैपनि कर्मचारीले काम गर्न नसक्ने अवस्था सिर्जना भएको छ ।’ 
नेपाल निजामती कर्मचारी यूनियनका अध्यक्ष सुशिल बास्तोला र नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अशोक पराजुलीले जारी गर्नुभएको विज्ञप्तीमा अराजक समुहलाई कारबाही गर्न र राष्ट्रसेवक कर्मचारीलाई उच्च मनोबलकासाथ काम गर्ने वातावरण सिर्जना गर्न प्रशासन समक्ष माग गरिएको छ । विज्ञप्तीमा जिल्लाका कर्मचारीमाथि कुटपिट गर्नेक्रम नरोकिए सबै ट्रेड यूनियनकर्मी तथा कर्मचारीहरु कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ । 
यसअघि, घटनाको भोलीपल्टै कार्यालय प्रमुख भट्टराईमाथि भएको कुटपिटको घटनालाई प्रशासनले मिलापत्र गराएको भन्दै नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले बिरोध जनाइसकेका छन् । गुण्डागर्दी गर्ने समुहलाई कारबाही गर्नुको सट्टा प्रमुख जिल्ला अधिकारीले दोषीकै पक्षमा लागेर पीडितलाई तेजबोध गरिएको भन्दै दुई संगठनले बिरोध जनाएका हुन् । 
कुटपिटपछि पक्राउ परेका समुहलाई मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी नेपालको रोहबरमा मिलापत्रगरि छाडिएको कर्मचारीहरुको अरोप छ । कुटपिटबाट कार्यालय प्रमुख भट्टराईको अनुहारमा निलडाम लागेको छ । प्रमुख जिल्ला अधिकारी नेपालले भने, पीडितपक्षले नै मिलापत्र गर्ने भनेपछि कारबाहीको प्रक्रिया अगाडि नबढाइएको बताउनुभएको छ ।