भदौ–८, खोटाङमा पाँच दिनदेखि अवरुद्ध टेलीफोन सेवा शुक्रबारबाट सञ्चालनमा आएको छ ।
उदयपुरको चित्रेस्थित नेपाल टेलीकमको रिपिटर टावरमा आएको समस्या समाधानपछि साँझ पाँच बजेदेखि सबै प्रकारका टेलिफोन सेवा सञ्चालनमा आएको हो । टेलिफोन सञ्चालनमा आएपनि ईन्टरनेट सेवा भने, अझै अवरुद्ध छ ।
जिल्लामा सञ्चालित ल्याण्डलाईन, नमस्ते तथा स्काई फोन गत–३ गतेदेखि पूर्णरुपमा अवरुद्ध बनेको थियो । जिल्लामा सञ्चालित टेलिफोन सेवा सञ्चालनमा आएसँगै जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ ।

टेलिफोन अवरुद्ध बन्दा सञ्चारकर्मी, उद्योगी तथा व्यापारी प्रत्यक्ष मारमा परेका थिए । पटक–पटक अवरुद्ध हुँदै आएको टेलिफोन तथा ईन्टरनेट सेवा मर्मतमा टेलिकमले समयमै चासो नदिएको उपभोक्ताहरुको आरोप छ ।
ईन्टरनेट सेवा अवरुद्ध भएपछि जिल्लास्थित राष्ट्रिय वाणिज्य वैंकको कारोबार समेत ठप्प भएको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ । सबै काम ईन्टरनेटमार्फत गर्दै आइएकोमा एक्कासी सेवा अवरुद्ध भएपछि जिल्लाका विभिन्न ठाउँबाट आउने सेवाग्राही त्यसै घर फर्कन बाध्य भएको बैंकका प्रबन्धक लीलाकुमार जोशीले बताउनुभएको छ ।
उदयपुरको चित्रेमा रहेको रिपिटर टावरको बिग्रिएको ब्याट्री परिवर्तन गरिसकिएकाले इन्टरनेट सेवा समेत चाँढै नै सञ्चालनमा आउने नेपाल टेलिकम शाखा कार्यालय खोटाङका प्रमुख भरोसी साहले जानकारी दिनुभएको छ । रिपिटर टावरको रेडियोलिङ र ब्याट्र«ी फेर्ने काम सकिएकाले चाँडैनै ईन्टरनेट सेवा पनि सञ्चालनमा आउने साहको भनाइ छ ।