भदौ–८, लामो समयसम्म चर्किएको खोटाङका दुई यातायात व्यवसायीबीचको विवाद शनिबारबाट टुङ्गिएको छ । 
जिल्ला प्रहरी कार्यालय खोटाङमा भएको दुई पक्षीय वार्तामा दुबै व्यवसायीबीच आपसी समझदारीमा निर्वाधरुपमा यातायात सञ्चालन गर्ने, आ–आफ्नो काउण्टरबाट आ–आफ्नै कर्मचारीमार्फत टिकेट काट्ने र सार्वजनिक यातायातका सवारी साधनका कागजात जिल्ला प्रहरी कार्यालयमा बुझाउने तथा नबुझाउने यातायातलाई जिल्ला प्रवेशमा रोक लगाउने सहमती भएपछि विवाद समाधान भएको हो । 
खोटाङ यातायात व्यवसायी संघ र मध्य पहाडी यातायात व्यवसायी संघबीच चार दिनसम्म चलेको वार्तामा विवाद समाधानपछि जिल्लामा अवरुद्ध यातायात सेवा सहजरुपमा सञ्चालन हुन थालेको छ । यसअघि पनि पटकपटक भएको वार्ता असफल भएपछि गत मंगलबारदेखि दुई पक्षीय वार्ता शुरु भएको थियो । 
खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटको दुधकोसी र ओखलढुङ्गा र उदयपुरको सिमानामा पर्ने हर्कपुरमा पर्ने सुनकोसी नदीमा हालिएको बेलिब्रिज निकालिएपछि दुई व्यवसायीबीच विवाद भएको थियो । चार दिनसम्म चलेको वार्तामा राजनीतिक दल र प्रशासनले बेलिब्रिज सञ्चालन नहोउन्जेलसम्मका लागि मिलेर यातायात सञ्चालन गर्न आग्रह गरेपछि यस्तो सहमती भएको हो ।
यसैवीच, यातायात सञ्चालनमा ल्याउने सहमती भएसँगै नयाँ भाडा दर र बस छुट्ने समय पनि निर्धारण गरिएको छ । यसमा दिक्तेल–हुर्लुङ १५०, दिक्तेल–नुनथला २००, दिक्तेल–बिजुले ३००, दिक्तेल–अर्खौले ३५०, दिक्तेल–हलेसी ४७५ र हलेसी–जयरामका लागि ३०० बस भाडा समेत निर्धारण गरिएको छ । 
यस्तै, दिक्तेल–जयरामघाटका लागि बस छुट्ने समय पनि परिवर्तन गरिएको छ । परिवर्तित समयअनुसार अव दिक्तेल–जयरामघाटका लागि बिहानः ६ बजे, दिउसोः ११ बजे र ३:३० बजे तथा जयरामघाट–दिक्तेलका लागि बिहानः ७:३० बजे, मध्यान्नः १२:३० बजे र बेलुका ६ बजे बस छुट्ने दुई व्यवसायीयले गरेको सहमतीपत्रमा उल्लेख छ ।