भदौ–१२, खोटाङ सदरमुकाम दिक्तेलमा जारी पहिलो खुल्ला स्नुकर प्रतियोगीता सकिएको छ । 
खोटाङ स्पोर्टस क्लवको आयोजनामा शनिबारदेखि जारी प्रतियोगीतामा दिलीप तामाङ प्रथम र जयराम गिरी दोश्रो हुनुभएको छ । 
खोटाङ बिलियर्ड हलमा मंगलबार सम्पन्न फाइनल खेलमा गिरीलाई हराउँदै तामाङ पहिलो खुल्ला स्नुकर च्याम्पीयनशीप बन्नु भएको हो । 
प्रथम स्थान प्राप्त गर्नु भएका तामाङले नगद १५ हजार तथा दोश्रो स्थान प्राप्त गर्नुभएका गिरीले १० हजारकासाथमा फ्रेमसहितको प्रमाणपत्र हात पार्नु भएको छ । यस्तै, खेल अवधिको उत्कृष्ट खेलाडी तथा अनुशासित खेलाडीको पुरस्कार बादल जोशीले प्राप्त गर्नुभएको छ । जोशीलाई स्थानीय व्यवसायी उमेश कार्कीले एक जोर जुत्ता उपहार स्वरुप प्रदान गर्नुभएको छ । 
सम्भावना बोकेका स्नूकर खेलाडीहरुको मनोबल बढाउँदै जिल्लामा स्नूकर खेलको व्यवसायीक बिकासकालागि प्रतियोगीताको आयोजना गरिएको आयोजक खोटाङ स्पोर्टस क्लवका सल्लाहकार पेम्बा तामाङले जानकारी दिनु भयो । जोशेफ रिजाल, विद्यान थापा, पेम्बा तामाङ लगायतका खेलप्रेमीहरुको प्रायोजनमा प्रतियोगीताको आयोजना गरिएको आयोजक खोटाङ स्पोर्टस क्लवले जनाएको छ । 
प्रतियोगीताका विजयी तथा सहभागी खेलाडीहरुलाई नेपाल पत्रकार महासंघका का.अध्यक्ष दमन राई, प्रायोजक जोसेफ रिजाल लगायतले नगद तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रम क्लवका उपाध्यक्ष कोमलदेबी बानियाँको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगीतामा जिल्लाका १९ खेलाडीहरु प्रतिष्पर्धामा उत्रिएका थिए ।