भदौ–१२, खोटाङमा दुई पक्षबीच झडप हुँदा गम्भिर घाइते बनेका एक व्यक्तिको चार दिनपछि ज्यान गएको छ ।
जिल्लाको उत्तरी गाविस महेश्वरी–३ का निर्मल राई नेतृत्वका युवाहरुको कुटाइबाट गम्भिर घाइते बनेका सोही गाविस वडा नम्बर–४ का ३२ वर्षीय महेश राईको ज्यान गएको हो ।
ऐसेलुखर्कमा लाग्ने शनिबारे हाट भरेर घर फर्कदै गर्दा पुरानो रिसिईबीमा निर्मलका नेतृत्वमा रहेका समूहले कुटेर गम्भिर घाइते बनेका महेशको मंगलबार ज्यान गएको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार हटियाबाट घर फर्कदै गर्दा माक्पाको देसारे भन्ने ठाँउमा निर्मल राई नेतृत्वको समूहले महेशमाथि आक्रमण गरेका थिए । मंगलबार बेलुकी ज्यान गुमाएका राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको छ ।
महेशको ज्यान गएसँगै निर्मल राईलगायत १४ जना युवायुवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी नायव उपरीक्षक गोबिन्द साहले बताउनुभयो । कुटपिटमा संलग्न रहेको आशंकामा पक्राउ परेका युवायुवतीलाई हिरासतमा राखेर छानविनको प्रक्रिया अगाडि बढाइएको छ ।
चार महिनाअघि गाउँलेको विवाहमा भएको झगडाको विषयलाई लिएर शनिबार राईमाथि कुटपिट भएको प्रहरीको भनाइ छ । महेश पक्षका अन्य केही व्यक्ति पनि घाइते भएको स्थानीयबासीले जानकारी दिएका छन् ।