भदौ–१६, खोटाङको जालपास्थित जालपा उच्च माविले शैक्षिक सुधारकालागि घरदैलो कार्यक्रम शुरु गरेको छ । 
विद्यालयको शैक्षिक सुधारकालागि स्थानिय अभिभावक, विद्यार्थी, शिक्षकहरुको सहकार्यमा शैक्षिक सुधारकाका कार्यक्रम शुरु गरिएको हो । 
जालपा गाविसको प्रत्येक वडा, हौचुरको वडा नं १, २, ३ र ४ तथा खार्मी गाविसको १, र २ नम्बर वडामा घरदैलो भेटघाट तथा छलफल कार्यक्रम शुरु गरेको जालपा उच्च माविका प्रधानाध्यापक तेजबहादुर राई जानकारी दिनु भयो । 
विद्यालयको शैक्षिक सुधारसहित आगामी दिनमा विद्यालयको सर्वोपरी हितका विषयमा आवश्यक छलफल तथा अन्र्तकृया गर्न विद्यालयले यो अभियान शुरु गरेको राईले जानकारी दिनु भयो । विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावकहरुको सहभागितामा आठ वटा समुह बनाएर अभियान शुरु गरिएको छ ।
भेटघाट अन्तरक्रिया तथा छलफलमा सहभागि समुहले विद्यालय वितरण गर्ने दलित छात्रवृद्धी तथा छात्रा छात्रवृद्धी समेत घरघरमा लगेर वितरण गरि रहेको पनि छलफलका क्रममा हौचुर पोखरी पुग्नु भएको प्रधानाध्यापक राईले बताउनु भयो । 
शिक्षाको खस्कँदो नतिजामा व्यापक सुधार गर्न स्थानिय अभिभावक विद्यार्थी, तथा शिक्षकहरुको भुमिकालाई आगामी दिनमा प्रभावकारी बनाउन यो अभियानले मद्यत गर्नेमा जालपा उमावी आशावादी रहेको समेत राईले जानकारी दिनु भयो ।