पुर्बी नेपालको पर्यटकीय स्थल बराहपोखरी खोटाङको दक्षिणी गाबिस बराहपोखरीमा पर्छ । 
चारैतिर पहाडले घेरिएको र बीचको खाल्डोमा रहेको बराहपोखरी पुग्न सदरमुकाम दिक्तेलबाट डेढ दिन पैदल हिँड्नु पर्छ । मुहान नदेखिएनि बा¥है मास टम्म पानी हुनु यस पोखरीको बिषेशता हो । पहाडी उपत्यकामा रहेको यस पोखरीको पानी सुरुङबाट निकास हुने गरेको स्थानीयबासी बताउँछन् । 

छिमेकी जिल्ला उदयपुरसँग जोडिएको बराहपोखरी खोटाङको प्रमुख पर्यटकीय स्थल तथा धार्मिक स्थल हो । सदरमुकाम दिक्तेलबाट स–छितापोखरी, ईन्द्रणीपोखरी, खोटाङबजारहुँदै पुगिने बराहपोखरीमा जिल्ला बाहिरबाट सिधै खोटाङबजारस्थित थामखर्क बिमानस्थल ओर्लेर पनि जान सकिन्छ । 
यसबाहेक छिमेकी जिल्ला उदयपुरबाट पनि बराहापोखरीमा पुग्न सकिन्छ । बराहपोखरी जाने दिक्तेल–खोटाङबजार सडक निर्माणाधिन छ भने, केही बर्षमै पूरा हुने उदयपुरको साउने–सुन्तले–साउनेचौंर र रसुवा–बराहपोखरी सडक पनि निर्माण भइरहेको छ । 
४.४६ हेक्टरमा फैलिएको, ३३० मिटर लम्बाई र २१० मिटर चौडाई भएको  तालको छेउमा शंखेश्वर महादेवको मन्दीर रहेको छ । पोखरीमा नुहाउदा मनोकांक्षा पूरा हुने, निसन्तानलाई सन्तान प्राप्त हुने बिश्वासमा बराहपोखरीमा बर्षेनी हजारौं तिर्थयात्रीको भीड लाग्ने गरेको छ । 
हरिबोधनी एकादशी, बालाचतुर्दशी, माघे संक्रान्ती, शिबरात्री र रामनवमीको अवशरमा बराहपोखरीमा सतबिज पलबीज छर्ने चलन छ । बराहपोखरीमा हरिबोधनी एकादशी मेलाकोबेला दुई हजारभन्दा बढि परेवा उडाउने गरिन्छ । 
बराहपोखरीमा संसारमै दुर्लभ र लोपोन्मुख मानिने रातो माछा पाईन्छ, जसलाई टाढाबाटै पोखरीमा राताम्य देख्न सकिन्छ । जिल्लाकै प्रमुख पर्यटकीय स्थलकारुपमा बिकास गर्न सकिने बराहापोखरी बिकास, संरक्षण र संबर्धनको पखाईमा रहेको छ ।