भदौ–२१, मलेसियामा सुतेकै अवस्थामा एक नेपालीको ज्यान गएको छ । 
ठेगाना नखुलेका खुमबहादुर खड्काको पासपोर्टमा आफ्नो फोटो टाँसेर काम गर्दै आएका खोटाङको सावाकटहरे–१ नाँगीका अमृतबहादुर मगरको सुतेकै ठाउँमा ज्यान गएको हो । 
रोजगारीका सिलसिलामा २०६८ साल कार्तिकमा मलेसिया पुगेका मगरको अकस्मात सुतेकै ठाउँमा ज्यान गएको छिमेकी रामकुमार खड्काले जानकारी दिनु भयो । दिनभरको कामबाट कोठा फर्किएपछि बेलुकाको खाना खाएर सकुशल सुतेका मगर भोलीपल्ट बिहान मृत अवस्थामा फेला परेको उनका साथीहरुले जानकारी दिएको खड्काले बताउनु भयो । 
कम्पनीबाट भागेर खड्काको पासपोर्टमा आफ्नो फोटो टाँसेर अर्कै कम्पनीमा लेबरको काम गर्नेक्रममा मगरको ज्यान गएको हो । आफ्नो पासपोर्टको अवधि सकिएपछि मगरले साथीको पासपोर्टमा काम शुरु गर्नु भएको आफन्तको भनाई छ । 
मगरको ज्यान गएपछि नावालक छोरा सहित सुनसरीको तरहरामा बस्दै आएका श्रीमतीको बिचल्नी भएको छ । मृतकको शव ल्याउनकालागि आवश्यक एक लाख २० हजार ऋण जुटाउनकालागि समस्या भएको भाई चन्द्रमान मगरले बताउनु भयो ।