भदौ–२२, ज्यान गुमाएको छ महिना बितिसक्दा पनि खोटाङका एक व्यक्तिको शव अझै गाउँ फर्काउन सकिएको छैन ।
गत फागुन–२५ गते साउदीअरबमा ज्यान गुमाएका नेर्पा–८ का मनकुमार कामीको शव अहिलेसम्म पनि स्वदेश फिर्ता ल्याउन नसकिएको हो ।
काम गर्दै गरेको स्थान र मालिकको पहिचान हुन नसकेका कारण अहिलेसम्म कामीको शव ल्याउन नसकिएको सुरक्षित आप्रवासन सुचना केन्द्र दिक्तेलले बताएको छ । खेतीपातीका कामका लागि काठमाडौंको पुलचोकस्थित मुनाल ओभरसिजमार्फत कामी २०६९ साल जेठ–१६ गते साउदीको हायल भन्ने ठाउँमा पुगेका थिए ।
बैदेसिक रोजगारीका सिलसिलामा दुबईबाट फर्किएर पुनः साउदी पुगेका कामी आफ्नो कम्पनी छाडेर व्यक्तीको निजी घरमा काम गर्दै आएको आमा डम्बरकुमारी कामीले बताउनुभएको छ । काम गर्ने कम्पनीले तोकिएजती तलब नदिएको भन्दै मनकुमारले कम्पनी परिवर्तन गरेको आफन्तको भनाइ छ ।
डम्बरकुमारीले घटना लगत्तै मृतक छोराको शव स्वदेश फिर्तालागि पहल गरिदिन सुचना केन्द्र समक्ष निबेदन दिनुभएको केन्द्रका परामर्शदाता खिलाश्वरी दाहालले बताउनुभयो । मनकुमारको मृत्युको कारण अहिलेसम्म खुल्न नसकेको दाहालको भनाइ छ ।
मृतक मनकुमारको शव फिर्ता ल्याउनका लागि साउदी प्रहरीले दश हजार दिराम मागेको मृतक परिवारले जनाएको छ । प्रहरीले मागेको रकम आफूहरुले उपलब्ध गराउन नसकेपछि छ महिनासम्ममा पनि शव फिर्ता ल्याउन नसकिएको पारिवारिक श्रोतको भनाइ छ ।