भदौ – खोटाङका हिन्दु महिलाहरुले सदरमुकाम दिक्तेलमा सामुहिकरुपमा दर खाँदै तीज पर्वलाई स्वागत गरेका छन् । 
नजिकीदै गरेको तीजका अवसरमा शुक्रबार साँझ उनीहरुले समिक्षालय हलमा एक आपसमा दर बाँडेर खाँदै नाच गान गरेर तीज पर्वलाई स्वागत गरेका हुन् । 
तीजकै अवसरमा सदरमुकाम दिक्तेल ३ र ४ स्थित महिला समुहले पनि आइतबार भव्य तीज विशेष कार्यक्रम गर्ने तयारी गरेको छ । तीज विशेष कार्यक्रममा खुल्ला संगिनी नाच प्रतियोगीता, नृत्य प्रतियोगीता, महिला हिंसा सम्वन्धी सडक नाटक प्रदर्शन एवं ज्येष्ठ वृद्धाहरुलाई सम्मान गरिने महिला समुहले जनाएको छ । 
यस्तै, तीजकै अवसरमा विजयखर्कस्थित भैरवेश्वर महिला जागरण मञ्चले खुल्ला लोकदोहोरी प्रतियोगीता गरेको छ । प्रतियोगीतामा मालीमारेदेवि आमा समुह प्रथम, उत्तमलक्ष्मी आमा समुह दोश्रो र सयपत्री आमा समुह तेश्रो भएका छन् । 
‘के छ पाकेको, निलो खैरो लाएको देखेको, रातो साडी केलाई साँचेको’ बोलको दोहोरी प्रतियोगीताका बिजेता समुहहरुले क्रमशः नगद पाँच हजार, तीन हजार र दुई हजार नगदकासाथमा प्रमाणपत्र हात पारेका छन् ।
‘सवै धर्म संस्कृतिको संरक्षण एबं सबर्धन गरौं, संबृद्ध, मर्यादित एबं समतामूलक मानव समाजको निर्माण गरौं’ भन्ने नारासहित प्रतियोगीताको आयोजना गरिएको आयोजक भैरवेश्वर महिला जागरण मञ्चले जनाएको छ । 
पुर्खाले मान्दै आएको पुरातन धर्म, संस्कृति तथा भेषभूषाको संरक्षण गर्ने उद्धेश्यले लोक दोहोरी प्रतियोगीताको आयोजना गरिएको भैरवेश्वर महिला जागरण मञ्चकी अध्यक्ष अनिशा खनालले बताउनुभयो ।