भदौ–२६, मलेसियाबाट अलपत्र अवस्थामा उद्धार गरिएका एक नेपालीले स्वदेश फर्किएपछि मेनपावर कम्पनीबाट क्षतीपूर्ती लिएका छन् । 
उद्धारपछि स्वदेश फर्किएका खोटाङको बुईपा–६ का २९ वर्षीय सागर राईले मलेसिया पठाउने काठमाडौंको रिक्रुटमेन्ट प्रालिबाट ६० हजार क्षतीपूर्ती लिनु भएको हो । 
स्वदेश फर्किए लगत्तै पिपुल्स फोरमको कानूनी परामर्श र सहयोगमा मुद्धा लडेर मेनपावरबाट क्षतीपुर्ती लिएको सागरले बताउनु भयो । 
सम्झौता बिपरितको काममा लगाइएको, तोकिएजती तलव नदिएको, कार्यरत कम्पनीबाट निस्किएको रासायनिक पदार्थका कारण हातका नङ पाक्ने समस्याबाट बिरामी परेको भन्दै सागरका आफन्तले खोटाङस्थित सुरक्षित आप्रबासन सूचना केन्द्र समक्ष उनको उद्धारकालागि निबेदन दिएका थिए । उद्धारपछि सुचना केन्द्रमार्फत उहाँ पिपुल्स फोरमको सम्पर्कमा पुग्नु भएको थियो । 
पिपुल्स फोरमले निशुल्क कानूनी परामर्श प्रदान गर्नुकासाथै मेनपावर बिरुद्धमा मुद्धा लड्न, उजुरी लेख्न सहयोग गरेपछि मेनपावरकाबिरुद्ध बैदेसिक रोजगार बिभागमा मुद्धा हालिएको दिक्तेल आइपुगेका सागरले जानकारी दिनु भयो । 
उद्धारपछि सागर गत बैसाख २३ गते नेपाल फर्किनु भएको थियो । दिक्तेल आइपुगेका सागरले उद्धारकालागि सहयोग गरेकामा सुरक्षित आप्रबासन सूचना केन्द्रका पदाधिकारीहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको छ । 
सामान प्याकिङको कामकालागि भन्दै रिक्रुटमेन्ट प्रालिले सागरसहित १३ नेपाली युवालाई गत चैत्र–२९ गते मलेसियाको सिलाङगढ जिल्लाको सन्तोषास्थित रिभर स्टोन रिसर्च कम्पनीमा पु¥याएको थियो । उनीहरुलाई सम्झौता बिपरित रासायनिक पदार्थ राखिएका भाँडाकुँडा तथा उपकरणहरु पखाल्ने काममा लगाइएको सुचना केन्द्रका संयोजक नबिन्द्र राईले बताउनु भयो ।