भदौ–२६, खोटाङको पश्चिमी गाविस डिकुवास्थित उपस्वास्थ्यचौकीमा औषधि अभाव भएको छ । 
जिल्ला अस्पतालले आवश्यक औषधि नपठाएका कारण उपस्वास्थ्यचौकीमा एक महिनादेखि औषधि अभाव भएको स्थानीय सामाजिक परिचालक हर्क राईले जानकारी दिनुभयो ।
उपस्वास्थ्यचौकीमा अहिले कोट्रिम, पिल्स र कण्डम मात्र बाँकी रहेको स्थानीयबासीको भनाई छ । जिल्ला अस्पताललाई पटक पटक औषधि पठाइ मागेपनि औषधि नआएको अहेव रामबहादुर शाहले बताउनुभयो । 
उपस्वास्थ्यचौकीमा औषधि नभएपछि सामान्य प्रकृतिका बिरामीको समेत उपचार गर्न समस्या भएको अहेव शाहको भनाई छ । स्वास्थ्य संस्थामा औषधि नपाएपछि गाबिसका बिरामीहरु छिमेकी गाबिस च्यास्मीटार र बाहुनीडाँडामा जान बाध्य बनीरहेका सामाजिक परिचालक राईले बताउनुभयो ।
स्वास्थ्यचौकीकारुपमा स्तरोन्नतीमा परेको सो उपस्वास्थ्यचौकीमा यस आर्थिक वर्षदेखि आउनुपर्ने ३५ प्रकारका औषधि समेत नआएको अहेव शाहले बताउनुभयो । जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर नवलकिशोर झाले भने उपस्वास्थ्यचौकीमा औषधिको अभाव भएको र मागकालागि जानकारी नआएको बताउनुभयो । 
यस्तै, खार्मीस्थित उपस्वास्थ्यचौकीमा पनि औषधि अभाव भएको अहेव पदम दाहालले बताउनुभयो । औषधि अभाव भएपछि कालिका मावि खार्मीमा फैलिएको अज्ञात रोगका बिरामीलाई उपचारमा समस्या भएको अहेव दाहालको भनाइ छ । 
विद्यालयमा विद्यार्थी बिरामी परेपछि उपस्वास्थ्यचौकी लिएर जाँदा सिटामोल बाहेक अन्य औषधि नपाएको प्रधानाध्यापक युद्धबहादुर राईले बताउनुभयो ।