भदौ–३१, आगामी मंसिर–४ को घोषित निर्वाचनका लागि खोटाङबाट दुई जना सरकारी कर्मचारीको नामावली सिफारिस भएको छ । 
नेकपा एमाले खोटाङले क्षेत्र नम्बर–१ बाट समानुपातिकका लागि सरकारी कर्मचारी भोला पोखरेल र क्षेत्र नम्बर–२ बाट गोपी खड्काको नाम सिफरिस गरेको हो । 
पोखरेल सहकारी विकास शाखा कार्यालय बानेश्वरका नायव सुब्बा हुन् भने, खड्का खानेपानी संस्थानका कर्मचारी हुन् । 
यस्तै, राजनीतिक दलका नेताहरुमध्ये तीन घरका ६ जनाको नाम सिफारिस भएको छ । दलका तर्फबाट दुई घरका चार दाजुभाइ र एक घरका दिदीभाइको नाम उम्मेदवारका लागि सिफारिस भएको हो । 
आगामी मंसिर–४ को घोषित निर्वाचनका लागि क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसले प्रत्यक्षतर्फ महासमिति सदस्य नरेशकुमार श्रेष्ठ र राप्रपा नेपालका जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको नाम सिफारिस गरेको छ । उम्मेदवारी दिने नरेश र जीवन एकै घरका दाजुभाइ हुन् ।
काग्रेसकै महाधिबेशन प्रतिनिधि रोजन राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष ललितकुमार राई ‘जीवन’को नाम पनि सिफारिस गरिएको छ । उनीहरु पनि एकै घरका दाजुभाइ हुन् । यस्तै, राप्रपाकै केन्द्रीय सदस्य तथा पूर्व सभाषद् अर्जुन राई र कृष्णकुमारी राईको नाम पनि सिफारिस गरिएको छ । उनीहरु पनि एकै घरका दिदीभाइ हुन् । 
जिल्लाका अन्य पार्टीले भने, चुनावी माहोल सृजना भएपछि मात्र आफ्नो पार्टीको तर्फबाट उम्मेदवारको नामावली सिफारिस गर्ने जनाएका छन् । जिल्लामा साना ठूलागरी एक दर्जन दल छन् ।