असोज–१, खोटाङ यातायात व्यवसायी संघले खोटाङमा भित्रने मालसामानको ढुवानी भाडा दर वृद्धि गरेपछि उपभोक्ता मर्कामा परेका छन् । 
आलोपालो प्रणालीको नाममा सिन्डीकेट लगाउँदै यातायात व्यवसायी संघले जिल्लामा भित्रिने उपभोग्य सामानको ढुवानी भाडा दर दोब्बर वृद्धि गरेपछि उपभोक्ता मर्कामा परेका हुन् ।
कच्ची सडकको कारण देखाउँदै यातायात व्यवसायीले मालबाहक सवारी साधनमार्फत हुने ढुवानी भाडा दर वृद्धि गरिएको जनाएको छ । जिल्लामा प्रतिकिलो चार रुपैयाँ ५० पैसादेखि ६ रुपैयाँ ५० पैसामा ढुवानी हुँदै आएको सामानको भाडा दरलाई व्यवसायी संघले बृद्धि गरेर प्रतिकेजी ७ देखि ८ रुपैयाँ पु¥याएको छ ।
उदयपुर र ओखलढुंगाको सिमामा पर्ने हर्कपुर तथा खोटाङ र ओखलढुंगाको सिमामा पर्ने जयरामघाटमा सञ्चालित बेलीब्रीज निकालिएका कारण ढुवानी दर बढाउनु परेको व्यसायीको भनाई छ । भरियालाई बोकाएर सामान तार्दा प्रतिकेजी २ रुपैयाँ लाग्ने गरेका कारण ढुवानी भाडा दर बढाइएको यातायात व्यवसायी गोपाल श्रेष्ठले बताउनुभयो । 
आलोपालोको नाममा यातायात व्यवसायीले गरेको एकतर्फी ढुवानी दर वृद्धिले जिल्लामा सामानको मूल्य पाँचदेखि दश प्रतिशतले वृद्धि भएको खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष खुसनारायण शैंजूले बताउनुभयो । ढुवानी र मूल्य बृद्धिका कारण उदयपुरको कटारीको तुलनामा सदरमुकाम दिक्तेलमा उपभोग्य सामानको मूल्य २० रुपैयाँसम्मले फरक देखिएको उपभोक्ता बताउँछन् । 
ढुवानी भाडा दर वृद्धिले जिल्लाका सर्वसाधारण सबैभन्दा बढि मारमा परेको अध्यक्ष शैंजूको भनाइ छ । कतिपय व्यवसायीले ढुवानी दर वृद्धि भएको मौका पारेर पहिल्यै ल्याएर राखेका सामानको मूल्य बढाएर बिक्री शुरु गरेको श्रोतको भनाइ छ । 
दुबै नदीमा सञ्चालित बेलीब्रीज वर्षा याममा निकाल्ने र हिउँदमा सञ्चालन गरिदै आइएको छ । हिउद याममा दिक्तेलबाट तराई तथा राजधानीसम्म सिधा यातायात सेवा सञ्चालन भएपनि वर्षा याममा उदयपुरको कटारी यता तीन वटा सवारी साधन फेर्नु पर्ने वाध्यता छ । 
यता, सहायक प्रमुख जिल्ला अधिकारी तिलकराम पोखरेलले छलफलका माध्यमबाट समस्या हल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मूल्य वृद्धिले आफूहरुमा मार परेको सर्वसाधारणबाट गुनासो आएकाले तत्काल छलफल गर्ने तयारीमा लागेका छौं ।’