असोज–३, खोटाङमा संविधानसभाको चुनावी माहोल तीब्र बनेको छ । 
आगामी मंसिर–४ गते हुने भनिएको संविधानसभाको दोस्रो निर्वाचनका लागि जिल्लामा चुनावी चहलपहल तीब्र बनेको हो । 
तोकिएको चुनाव मिति आउन करिब ३ महिना बाँकी हँुदा जिल्लाका ६ राजनीतिक दलहरुले निर्वाचनका लागि  आ–आफ्ना पार्टीका उम्मेदवारका नामावली सिफारिस गरेको छ । 
चुनावमा जान तयार अन्य दलले भने, चुनावी माहोल सिर्जना भएपछि मात्र उम्म्ेदवारको नाम सिफारिस गर्ने जनाएको छ । चुनावका पक्षमा रहेका दलहरु चुनावी अभियानमा गाँउ–गाँउ पुगिरहेका छन् । 
मूलुक संविधानसभाको दोश्रो निर्वाचनमा गइसकेको भन्दै एमाओवादीले  एक महिने जनसम्बन्ध अभियान थालेका छन् भने, एमालेले जिल्लाका सावाखोला र रावाखोलाका नामबाट सारा अभियान  भन्दै गाँउगाउमा चुनावी अभियान सञ्चालन गरिरहेका छन् । 
जनजागरण अभियानका लागि ११ वटा टोली गठन गर्दै राप्रपाले पनि दुवै निर्वाचन क्षेत्रमा चुनावी अभियान थालेको राप्रपा जिल्ला अध्यक्ष ललितकुमार राईले जानकारी दिनुभयो ।
यसैबीच, खोटाङमा संविधानसभाको दोश्रो निर्वाचनलाई लक्षित गर्दै जिल्लामा कार्यरत पत्रकारहरुकाबीच गरिएको सञ्चार कार्यशाला सम्पन्न भएको छ । पत्रकारिताको माध्यमबाट संविधानसभाको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउने उद्धेश्यले जिल्ला निर्वाचन कार्यालयले दुई दिने सञ्चार कार्यशालाको आयोजना गरेको हो । 
कार्यशालामा संविधानसभा, संविधानसभाको निर्वाचन प्रणाली, निर्वाचन आचार संहिता, सूचना र सञ्चारका लागि नीतिगत र संस्थागत व्यवस्था, निर्वाचन अनुगमन, पर्यवेक्षण र मिडिया अनुगमन सम्बन्धी व्यवस्थालगायतका बारेमा जानकारी दिने काम भइरहेको छ । 
पत्रकारहरुका माध्यमबाट निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउने निर्वाचन आयोगको मूख्य उद्धेश्य रहेको जिल्ला निर्वाचन अधिकारी श्रीकुमार राईले बताउनुभयो । 
कार्यशालाका माध्यमबाट निर्वाचन प्रणाली, मतदाता शिक्षा, निर्वाचन आचार संहिता लगायतका बारेमा अन्र्तक्रिया गरिएको राईले बताउनुभयो । कार्यशालामा छापा तथा विद्युतीय सञ्चार माध्यममा कार्यरत जिल्लाका २६ जना पत्रकारहरुको सहभागिता रहेको थियो । 
कार्यशालामा जिल्ला निर्वाचन अधिकारी श्रीकुमार राई, क्षेत्रीय प्रशिक्षक तथा श्रोतब्यक्ती रामबिक्रम थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई र खोटाङ खबर साप्ताहिकका सम्पादक दिलीप खत्रीले सहजीकरण गर्नुभएको थियो । 
दुई दिने कार्यशाला उद्घाटन कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।