असोज–३, जिल्ला मालपोत कार्यालय खोटाङले प्रस्तावित नगरपालिका दिक्तेलबाट संकलन गर्दै आएको राजश्व संकलन कार्य बन्द गरेको छ । 
दुई वर्षअघि देशका ४१ वटा नगरपालिका घोषणा गरी दोब्बर राजश्व उठाउन सुरु गरेको राजश्व विभागको निर्देशन अनुसार बिहीबारदेखि राजश्व संकलन बन्द गरेको हो ।
नगरपालिका कार्यान्वयन नभइ राजश्व लिन थालेको सेवाग्राहीको गुनासो आएपछि राजश्व संकलन कार्य रोकिएको मालपोत अधिकृत विनोद गेलालले बताउनुभयो । आर्थिक वर्ष २०६८÷०६९ को बजेट भाषण मार्फत देशका विभिन्न गाविस मिलाएर ४१ वटा नगरपालिका घोषणा भएको थियो । 
खोटाङको बाम्राङ र दिक्तेल गरी दुई वटा गाविस मिलाएर नगरपालिका बनाएपछि यहाबाट दुई वर्षमा ७० लाख राजश्व संकलन भएको अधिकृत गेलालको भनाइ छ । उहाँका अनुसार आ.व २०६८÷०६९ मा ३२ लाख राजश्व संकलन भएको थियो भने, ०६९÷०७० मा ३३ लाख ६५ हजार र चालु आर्थिक वर्षको भदौसम्ममा ४ लाख १९ हजार राजश्व संकलन भएको थियो । 
राजश्व कार्यालयले ५५ लाख २७ हजार संकलन गर्ने लक्ष्य लिएपनि लक्ष्यभन्दा ४७ प्रतिशत बढी रकम संकलन भएको कार्यालयले जनाएको छ । संकलन भएको राजश्वमध्य ६० प्रतिशत जिल्ला विकास समितिमा र ४० प्रतिशत राजश्व कार्यालयको खातामा जम्मा भएको अधिकृत गेलालले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा जिल्लाका विपन्न नागरिकले १४ लाख ४ हजार ७ सय २३ रुपैयाँ छुट पाएका थिए । उनीहरुलाई मालपोत राजश्वमा २५ प्रतिशत छुट दिने व्यवस्था छ । अहिले सम्म जिल्लामा ४५ हजार ६ सय ४९ जग्गा धनीका एक लाख २६ हजार ९ सय २३ कित्ता जग्गा रहेको मालपोत कार्यालयले जनाएको छ । 
मालपोत कारोबारमा शुन्य दशमलव २ देखि २० प्रतिशतसम्म राजश्व लाग्ने कानुनी व्यवस्था रहेको छ ।