असोज । खोटाङमा बिक्रीबितरण भइरहेका म्याद नाघेका र सडेगलेका अखाद्य वस्तु भेटिएको जनगुनासो आएपछि प्रहरीले बरामद गरेको छ ।

दशैं तथा तिहारको समयमा हुनसक्ने कालोबजारी नियन्त्रणका लागि गरिएको अनुगमनका क्रममा सदरमुकाम दिक्तेलका खुद्रा तथा होलसेल पसलमा बिक्रीबितरण भइरहेका अखाद्य बस्तुहरु बरामद गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय खोटाङले गरेको अनुगमनका क्रममा दिनेश किराना स्टोर एण्ड सप्लायर्सबाट हात्ती ब्राण्डको १३ बोरा चामल, १ बोरा चिनी, आधा बोरा नरिवल सडिएको अवस्थामा फेला परेको अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी तिलकराम पोखरेलले बताउनुभयो । उहाँका अनुसार श्रीकृष्ण ईन्टर प्राईजेजबाट २४ प्याकेट भुजिया, ४ प्याकेट सुजी, १३ बोतल ड्यू र ८ बोटल कोकाकोला सडिएको अवस्थामा फेला परेको छ ।

अनुगमन समितिका संयोजक एबं सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुशार अखाद्यबस्तु बरामद गरी प्रहरीको नियन्त्रणमा राखिएको छ । जिल्लाका व्यवसायीहरुले भने तराईबाटै म्याद नाघेका खाद्य पदार्थ आउने गरेको बताएका छन् ।