असोज–२१, दशैं तथा तिहारमा हुन सक्ने विकृति तथा विसंगतिलाई न्यूनिकरण गर्नका लागि सामुदायिक विकास सेवा केन्द्र खोटाङले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
जिल्लामा बढ्दै गएको विकृति तथा विसंगतिलाई न्यूनिकरण गर्ने उद्देश्यले दशैं तथा तिहारको अवसरमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । 
केन्द्रका पदाधिकारी, स्थानीयबासी तथा प्रहरीको सहकार्यमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने केन्द्रका सचिव दिलीप खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनचेतनामूलक कार्यक्रमका साथै बजार अनुगमनलाई पनि तिब्रता दिने निर्णय गरेका छौं ।’
सदरमुकाम दिक्तेलस्थित रत्नपार्क क्षेत्रमा मादक पदार्थ सेवन गर्ने र होहल्ला गर्नेहरुको संख्या वृद्धि हुँदै गएकाले रात्री गस्तीलाई समेत बाक्लो बनाउने निर्णय गरिएको सचिव खत्रीको भनाइ छ । चाँडबाडको समयमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै रात्री गस्ती बढाउने निर्णय भएको केन्द्रले जनाएको छ ।