असोज–२३, लघुजलविद्युत आयोजनाबाट गाउँमा विजुली बलेपछि खोटाङको उत्तरी गाविस फेदीका स्थानीय वन जंगलको संरक्षण भएको छ ।

विजुली बलेसँगै स्थानीयबासीले वनजंगलमा भएका काठ तथा दाउराको साटो विजुलीबाट हिटर र राईस कुकर प्रयोगमा ल्याएपछि फेदीका सामुदायीक वनजंगलको संरक्षण भएको हो ।

विजुलीका कारण खाना पकाउनका लागि भान्छामा प्रयोग हुने जंगलको काठ तथा दाउरा खपत हुन छाडेपछि वन संरक्षणमा सहयोग मिलेको वन उपभोक्ता समितिले जनाएको छ ।

स्थानीय खोलाबाट उत्पादन गरिएको विजुली पुरै गाविसमा बलेपछि प्रायः फेदीका घर–घरमा दाउराको सट्टामा हिटर र कुकरको प्रयोग बढेको छ ।

खाना पकाउनका लागि भान्छा कोठामा हिटर र विद्युतीय कुकरको प्रयोग हुन थालेपछि स्थानीय जंगलमा दाउराका लागि रुख काट्नेक्रम कम भएको स्थानीय धनकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वन जंगल त संरक्षण भयो नै, गृहिनीहरुको स्वास्थ्यमा समेत लाभ हुने अपेक्षा छ ।’

यसैबीच, पुरै गाउँमा विजुली बलेसँगै जिल्लाकै विकट मानिएका फेदीमा सञ्चारको पहुँच पनि वृद्धि भएको छ । स्थानीय खोलाबाट विजुली निकालिएपछि गाउँमा टेलिभिजन हेर्न, कम्प्युटर, ल्यापटप लगायतका विद्युतीय सामग्री सञ्चालनमा आएको विद्युत आयोजनाका अध्यक्ष बताउनुभयो ।

यस्तै, विद्युतबाट चल्ने कुटानी पिसानीका मिल सञ्चालनमा ल्याइएपछि गाविसका महिलाहरुले ढिकीजाँतोबाट मुक्ती पाएका छन् । स्थानीय छमुवा र ताप खोलाको पानीबाट चार वटा लघुजलविद्यूत आयोजना सञ्चालनमा आएपछि गाविसका ७ सय ४९ घरमा विजुली बलेको छ ।

४० किलोवाट क्षमताको पञ्चमी–छमुवा, ४० किलोवाटको नोक्ती–तापखोला, ३० किलोवाटको स्वाँरा–तापखोला र १५ किलोवाटको छमुवा–बर्खे–पिपिङ लघुजलविद्यूत आयोजनाबाट बिजुली उत्पादन गरिएपछि गाविसका नौंवटै वडामा बिजुली बलेको हो ।

ईसाप नेपालको ६० लाखमा पञ्चमी–छमुवा, ६२ लाखमा नोक्ती–तापखोला र ५५ लाखमा स्वाँरा–तापखोला तथा कादुरीको एक करोड आर्थिक सहयोगमा छमुवा–बर्खे–पिपिङ लघुजलविद्युत आयोजना सञ्चालनमा आएको छमुवा–बर्खे–पिपिङ लघुजलविद्युत आयोजनाका अध्यक्ष ज्ञानकुमार राईले बताउनुभयो ।