कात्तिक ११ । राप्रपा नेपाल खोटाङले संविधानसभाको दोश्रो निर्वाचनको समानुपातिक उम्मेदवार छनोट गर्दा नातावाद, कृपावाद, लोभ, प्रलोभन र भनसुनदबाट पे्ररित भई निर्णय गरेको भन्दै निर्णय बदर गर्न तथा कारबाही गर्न माग गरेको छ ।

 मूलुकको प्रतिकुल राजनीतिक परिवेशमा एकल प्रतिपक्षको भूमिका निर्वाहा गर्दै समग्र जिल्लाको विकास निर्माणको निर्णायक भूमिकामा रहेका आफ्नो पार्टीको जिम्मेवार नेता तथा जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठलाई पार्टीको जिल्ला कार्यसमितिले समानुपातिक उम्मेदवारमा सिफारिस गरेको भएपनि पार्टीको सदस्य समेत नरहेका व्यक्तिलाई पार्टीले छनोट गरेको भन्दै निर्णय वदर तथा कारबाही गर्न विज्ञप्तीमार्फ माग गरेको भएको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘अन्य पार्टीसँग झुकाव राख्ने तथा पार्टीका साधारण सदस्य समेत नरहेका व्यक्तिलाई टिकट दिइएको छ, यो हामीलाई मान्य हुने छैन । यस्तो पक्षपात पूर्ण निर्णय तत्काल सच्याइनुपर्छ ।’

जिल्ला कार्य समितिले जारी गरेको विज्ञप्तीमा केन्द्रीय समितिले गरेको निर्णय तत्काल नसच्चिए आगामी संविधानसभाको दोश्रो निर्वाचनमा सम्पूर्ण जिल्ला पार्टीपंती निस्कृय रहने पनि चेतावनी दिइएको छ । विज्ञप्तीमा भनिएको छ, ‘विभिन्न आन्दोलनमा पार्टी हितको निम्ति ज्यानको आहुती दिने नेतालाई टिकट नदिएकाले हामी निस्कृय बस्ने भएका हौं ।’
२०४० सालबाट राजनीति शुरु गर्नुभएका श्रेष्ठ २०४९ सालमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका संस्थापक अध्यक्ष, पार्टी एकतापछि २०५४ सालमा भएको राप्रपा नेपालको जिल्ला अधिबेशनबाट निर्वाचित सहसचिव हुँदै २०६२ सालबाट जिल्ला अध्यक्ष तथा २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा क्षेत्र नम्बर–१ का प्रत्यक्ष उम्मेदवार हुनुहुन्थ्यो ।

जिल्लाका निडर तथा भ्रष्टचार विरोधी नेताका रुपमा चिनिने श्रेष्ठ २०६४ सालको निर्वाचनमा पराजित हुनुभएको थियो ।