खोटाङ जेठ–२८, वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमुलक बनाउन पहल गर्ने उदेश्यले खोटाङको रावाबेंसी गाउँपालिकामा आप्रवासी हकहित संरक्षण केन्द्र गठन गरिएको छ । वैदेशिक रोजगारीमा गएको ब्यक्ति तथा तिनका परिवारको हकहीत एबम् सुरक्षामा केन्द्रीत भई काम गर्ने उदेश्यले हिरालाल परियारको अध्यक्षतामा हालै १३ सदस्यीय संरक्षण केन्द्रको गठन गरिएको हो । 

पालिकाको ६ वटै वडामा यस अघि नै गठन गरिएको वडा स्तरीय संरक्षण केन्द्रको भेलाबाट एक नम्बर वडा कुभिण्डेमा गठन गरिएको पालिका स्तरीय केन्द्रको उपाध्यक्षमा सोमप्रसाद पाण्डे चयन हुनुभएको छ । गाउँपालिकाको अध्यक्ष लिलानाथ निरौला, उपाध्यक्ष समला राई, वडाध्यक्ष लगायतको जनप्रतिनिधि तथा केन्द्रको जिल्ला सदस्य सप्तमणी राईको उपस्थितीमा गठित नयाँ कार्य समितिको सचिबमा रामकुमार मगर, सहसचिब अर्जुन परियार र कोषाध्यक्षमा राजु ठटाललाई चयन गरिएको छ । 
वैदेशिक रोजगारीमा गई फर्किएका र स्वदेशमै रहने प्रण गरेका ब्यक्तिहरु मात्र समाबेश हुने संरक्षण केन्द्र स्थापनाका लागि बालसेवा समाज नेपाल नेर्पाको पहल र नबकिरण सेवा समाज दुर्छिमले सहयोग गरेका थिए । जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन परियोजनासँगको सहकार्यमा पहल गरिएको संरक्षण केन्द्र स्थापना पछि आप्रवासीहरुको समस्याहरु सम्बन्धित निकायसम्म पु¥याउन सहज भएको स्थानीय बताउँछन् । 
केन्द्रले  सम्भाबित आप्रवासीहरुलाई सीप तालिमको महत्व बुझाउने, सूचना केन्द्र पठाउने, वैदेशिक रोजगारीको क्रममा आई परेका समस्याहरुको समाधानका लागि सहयोग गर्ने लगायतका काम गर्दै आएका छन् । हकहित संरक्षण केन्द्रले सुरक्षित वैदेशिक रोजगारलाई राज्य तथा स्थानीय तहको प्राथमिकतामा समाबेश गर्न पहल गर्ने, स्थानीय तहसँग समन्वय गरी सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने लगायतको काम गर्दै आएको बालसेवा समाज नेपालको सामाजिक परिचालक लीला निरौलाले बताउनुभयो । 
वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सको सही सदुपयोग तथा दीगो आम्दानी र उत्पादनमुलक क्षेत्रमा लगानी, बचत गर्न समेत हकहीत संरक्षण केन्द्रले पे्ररित गर्दै आएको निरौलाको भनाई छ ।
वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, उपलब्धीमुलक बनाउँदै रेमिट्यान्सको सदुपयोगमा पहल गर्न पालिका प्राथमिकताका साथ लागेको अध्यक्ष लिलानाथ निरौलाले बताउनुभएको छ । कार्यक्रममा बोल्दै रेमिट्यान्सलाई दीगो आम्दानीमुलक ब्यवसायमा लगानी गर्न प्रोत्साहित गर्दै नियमित वैदेशिक रोजगारीमै गईरहनुपर्ने अवस्था रोक्न पालिकाले पहल गर्ने उहाँको भनाई छ ।