कात्तिक २५, रोजगारीका सिलसिलामा कतार पुगेको ५ महिना नपुग्दै एक नेपाली युवाको मृत्यू भएको छ ।

कतारको सलोरा कम्पनीमा स्टिल फिक्चरका काम गर्दै आएका खोटाङ देबिस्थान २ का २५ वर्षीय मिलनकुमार राईको मृत्यू भएको हो । साहुको ऋण काढेर ५ महिनाअघि कतार पुगेका राईको सुतेकै ठाउँमा मृत्यू भएको खोटाङ सेवा समाज दोहा कतारका महासचिव नारायण बस्नेतले जानकारी दिनु भयो । बेलुकाको खाना खाएर सुतेका राई भोलीपल्ट बिहान मृत अवस्थामा भेटिएको बस्नेतको भनाई छ । मृतक राई तोकिएको भन्दा न्यून तलबमा काम गर्दै आएका थिए ।

दाजु डिल्लीशेर राईको साउदीअरबमा मृत्यू भएको एक वर्ष बित्न नपाउँदै भाई मिलनको पनि कतारमा मृत्यू भएको हो । मृतक राईको शव अहिले हमाद अस्पतालमा राखिएको छ । साउदीमा दाजुको मृत्यू भएपछि उनी परिवारको आर्थिक अभाव हल गर्नकालागि कतार पुगेका थिए । बैदेसिक रोजगारका क्रममा एक वर्षको अवधिमा दाजुभाइको मृत्यूले राई परिवारको अवस्था झन दयनीय बनेको आफन्तको भनाई छ ।

मृतक राईका एक नाबालिका छोरी र श्रीमती छन् । उनका भाई दिपक पनि सोही कम्पनीमा कार्यरत छन् । मृतक राईको शव नेपाल पठाउने पहल भइरहेको खोटाङ सेवा समाजका महासचिव बस्नेतले जानकारी दिनु भयो ।