कात्तिक–२५, किरात सेवा समाज खोटाङले स्थापना गरेको अक्षय कोषका लागि स्थानीय एक समाजसेवीले ५० हजार रुपैयाँ प्रदान गर्नुभएको छ । 
बाँझेच्यानडाँडा घर भइ हाल दिक्तेल–३ हुलाकडाँडामा बस्नुहुने समाजका सल्लाहकार सदस्य समेत रहेका समाजसेवी राजबहादुर राईले एक कार्यक्रमकाबीच उक्त रकम प्रदान गर्नुभएको हो । 
अक्षयकोषबाट आएको ब्याजले समाजलाई आवश्यक पर्ने समाग्री खरिद गर्ने उद्देश्यका साथ स्थापना गरिएको अक्षय कोषका लागि उहाँले रकम प्रदान गर्नुभएको समाजका सचिव सुरेश राईले जानकारी दिनुभयो । संस्था सञ्चालनका लागि आर्थिक अभाव भएपछि आफूहरुले अक्षयकोष स्थापना गरेको सचिव राईको भनाइ छ ।
सचिव राईका अनुसार उक्त अक्षयकोषबाट आएको ब्याजले अप्ठ्यारोमा परेका किरात राई समुदायका व्यक्तिहरुलाई समेत सहयोग गरिनेछ । भव्यतव्यमा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएको संस्थाले आर्थिक सहयोग समेत गर्दै जाने निर्णय गरेको छ ।