निर्वाचन आयोगले मतदान गर्नका लागि परिचय–पत्र अनिवार्य गरेपछि मंसिर–४ गतेको निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालयले यस्तो तयारी गरेको हो ।
यसका लागि प्रत्येक मतदान केन्द्रमा परिचय–पत्रसहित कर्मचारी खटाइएको जिल्ला निर्वाचन अधिकारी श्रीकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्यक गाविसको प्रत्यक मतदान केन्द्रमा कर्मचारी खटाइएको छ ।
मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले आगामी कात्तिक–२९ गतेदेखि मंसिर–२ गतेसम्म मतदाताहरुलाई परिचय–पत्र बितरण गर्नेछ ।
यसैबीच, मतदाता परिचय–पत्र बितरणलाई कसरी सहज तथा सुविधायुक्त तवरले वितरण गर्न सकिन्छ भन्नेबारेमा सर्वपक्षीय बैठक बसेको छ । जिल्लाका राजनीतिक दल, कार्यालय प्रमुख तथा पत्रकारहरु उपस्थित बैठकमा सम्बन्धित व्यक्तिलाई मात्र मतदाता परिचय–पत्र प्रदान गर्ने निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सम्बन्धित व्यक्ति बाहेक अन्यलाई नदिने निर्णय गरेको छ । सर्वपक्षीय बैठकले गरेको निर्णय अनुसार कात्तिक–२९ गते बिहानदेखि मंसिर–२ गते बेलुकासम्म मतदाताहरुले आफ्नो परिचय–पत्र लिन पाउनेछन् ।
फर्जी मतलाई नियन्त्रण गर्ने आयोगको निर्णय अनुसार कार्यालयले परिचय–पत्र अनिवार्य गरेका हो । यस पटकको निर्वाचनमा मतदाता परिचय–पत्र बाहेकका व्यक्तिले मतदान गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।