मंसिर १, किरात जनबादी वर्कर्स पार्टीले आफ्नो प्रबक्तालाई पार्टीबाट हटाएको छ । पार्टीको हित विपरितका काम गरेको आरोपमा वर्कर्सले पार्टीका प्रबक्ता काईला खम्बू भनिने केवल किरातीलाई पार्टीबाट निष्काशित गरेको जनाएको छ । 
सर्वसाधारणबाट मनोमानी ढंगले चन्दा असुली गरेको, उठेको चन्दा व्यक्तिगत प्रयोजनमा खर्च गरेको, खर्चको बिबरण नदेखाएको तथा संबिधानसभाको निर्वाचनमा एमालेको पक्षमा मत दिन पार्टी पंक्तिलाई उर्दी गरेको आरोपमा खम्बूलाई पार्टीबाट हटाइएको वर्कसले जनाएको छ । 
‘संबिधानसभाको निर्वाचनमा एमालेलाई मत हालेर सहयोग गर्ने निर्णय भएको भन्दै पार्टीको नीति विपरित सार्वजनिक अभिव्यक्ति दिएकाले खम्बूलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट हटाइएको छ,’ वर्कर्स केन्द्रीय समितिका अध्यक्ष मिसाम किरातीको नाममा जारी विज्ञाप्तीमा भनिएको छ । विज्ञाप्तीमा खम्बूलाई पटक पटक सच्चिन चेतावनी दिँदा पनि पार्टीको निर्देशनलाई बेवास्ता गरेको उल्लेख छ । 
गत कात्तिक १२ गते खम्बूले बिभिन्न सञ्चार माध्याममार्फत आसन्न चुनावमा एमालेलाई मत दिनकालागि एमाले नेता केपी ओलीसँग १३ बुँदे सहमति भएको सार्वजनिक अभिव्यक्ति दिएको वर्कर्सको भनाई छ । यस्तै, पार्टीबाट हटाइएका पूर्वकार्यकर्ता हिमाल राई भनिने हस्त राईले अझै पनि पार्टीको महासचिवको नाममा अभिव्यक्ति दिइरहेकोप्रति वर्कर्सले आपत्ति प्रकट गरेको छ । हिमाल २०६९ चैत्रमै एमालेमा प्रबेश गरेको बिज्ञाप्तीमा उल्लेख छ । वर्कर्सले जातीय राज्यको माग गर्दै पूर्वी नेपालमा शसस्त्र संघर्ष गर्दै आएको छ ।