मंसिर ३, खोटाङको निर्मलीडाँडामा आगलागी हुँदा २० लाख भन्दा बढिको क्षती भएको छ । 
निर्मलीडाँडा २ का भक्तबहादुर कठेतको घरमा आगलागी हुँदा कठेतको १७ लाख ८५ हजारको धनमाल तथा एक लघुजल बिद्युत आयोजनाको २ लाख ८५ हजारको तार जलेर नष्ट भएको छ । 
आईतबार राती भएको आगलागीमा कठेतको भर्खरै निर्माण गरिएको तीन तले घर, ३ तोला सुन, नगद २ लाख २३ हजार, भर्खरै भित्र्याइएको धान, काठपात, भाँडाकुँडा तथा लत्ताकपडा जलेको स्थानीय गम्भीर खत्रीले जानकारी दिनुभयो । आगलागीमा निर्माणाधिन साप्सु खोला लघुजल बिद्युत आयोजनाको ५ सय क्वायल तार पनि नष्ट भएको छ । साप्सु खोला लघुजल बिद्युत आयोजनाका अनुशार २ लाख ८५ हजारमा विद्युतीय तार खरिद गरेर कठेतको घरमा राखिएको थियो । 
आगो घर नजिक रहेको कुखुराको खोरबाट सल्किएको भनिए पनि कारण खुल्न सकेको छैन । 
आगलागीबाट बिचल्नीमा परेका कठेतका ४ जनाको परिवार अहिले छिमेकीको सहयोगमा निर्माण गरिएको छाप्रामा बसिरहेका छन् । घर जलेपछि समस्यामा परेका कठेत परिवारको सहयोगकालागि छिमेकीहरुले बाँसको चित्रा दिएका थिए ।