मंसिर ४, कूल ९९ हजार ६ सय ६२ जनाको फोटोसहितको मतदाता नामावलीमा दर्ता गरिएको खोटाङमा जम्मा १ सय ७४ वटा मतदान केन्द्रबाट शान्त बातावरणमा मतदान भइरहेको छ । सबै सर्वसाधारणहरु आफ्नो मताधिकार प्रयोग गर्न आतुर रहेको मतदाताहरु बताउँछन् ।
दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा २ दर्जन उम्मेदवारहरु प्रत्यक्ष तर्फको निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । क्षेत्र नं. १ मा ५० हजार ६२ र क्षेत्र नं. २ मा ४९ हजार ६ सय जनाको गरी कूल ९९ हजार ६ सय ६२ जनाको फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भएको छ ।
अहिले सदरमुकाम दिक्तेलका अधिकांश घर तथा पसलहरु बन्द रहेका छन् । निर्वाचनमा मतदान गर्न मतदान केन्द्र गएकाले गर्दा धर तथा पसलहरु बन्द भएका हुन् ।
अहिले १२ बजेसम्ममा ५० देखि ५५ प्रतिशत मत खसेको जिल्ला निर्बाचन अधिकारी श्रीकुमार राईले जानकारी दिनुभयो । उहाँले हालसम्म जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको बताउनुभयो ।
यसैबीच, जिल्लाका उम्मेदवारहरु सकेसम्म धेरै मतदान केन्द्रहरुमा पुग्ने प्रयास गरिरहेका छन् । नेपाली कांग्रेस, एनेकपा माओबादी लगायतका उम्मेदवारहरु सदरमुकाम आसपासका केन्द्रहरुमा पुगिरहेका छन् । कांग्रेस क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार नरेशकुमार श्रेष्ठ, समानुपातिक तर्फका उम्मेदवार सरस्वती बजिमय, एनेकपा माओबदी क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार दुर्गाजयन्ती राई सदरमुकाम आसपासका केन्द्रहरुमा पुगिरहेका छन् ।
क्षेत्र नं. १ मा क्रमशः एनेकपा माओवादी, नेपाली कांग्रेस र नेकप एमाले तथा क्षेत्र नं. २ मा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेको कडा प्रतिस्पर्धा हुने खोटाङबासीको अनुमान छ । अर्को प्रतिस्पर्धी दल संघीय समाजवादी पार्टीको स्थान भने, चौथो हुने चर्चा छ ।