मंसिर–५ । खोटाङको २ नम्बर निर्वाचन क्षेत्रको मतपेटीका सेनाको हेलीकोप्टरमार्फत सदरमुकाम दिक्तेल ल्याइएको छ ।

पिठ्यूमा बोकाएर ल्याउन ढिला हुने भएपछि मतपेटीका ल्याउन नेपाली सेनाको हेलीकोप्टर प्रयोग गरिएको हो ।

सेनाको हेलीकोप्टरमार्फत चिसापानी र छितापोखरीमा जम्मा गरिएको ४२ वटा मतदान केन्द्रको मतपेटिका सदरमुकाम दिक्तेल ल्याइएको छ । मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद गौतमका अनुसार क्षेत्र नम्बर–२ को सम्पूर्ण मतपेटिका ल्याउने काम सकिएको छ ।

यस्तै, क्षेत्र नम्बर–१ को पनि आज साँझसम्ममा ल्याई सकिने अधिकृत गौतमको भनाइ छ । उहाँका अनुसार दुवै निर्वाचन क्षेत्रको १७४ स्थायी र २ वटा अस्थायी मतदान केन्द्रमा मतदान गरिएको थियो ।

दुवै निर्वाचन क्षेत्रका मतपेटीका जम्मा भएमा सर्वदलीय बैठक बोलाउने र आजै साँझबाट मतगणनाका काम थाल्न पहल गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यद्यपी, आजबाट मतगणनाका काम थालिने सम्भावना कम रहेको गौतमको भनाई छ ।
दुई वटा निर्वाचन क्षेत्र रहेको जिल्लाको कूल ९९ हजार ६ सय ६२ मतदातामध्ये ७० प्रतिशत मत खसेको थियो । २०६४ सालमा कुल १ लाख ८२ हजार ७ सय ९४ मतदाता मध्ये ९० हजार १ सय २ मत अर्थात ५२ प्रतिशत मत खसेकोमा यसपल्ट ७० प्रतिशत मत खसेको हो ।
कार्यालयका अनुशार यसपल्ट निर्वाचन क्षेत्र नम्बर १ मा ५० हजार ६२ र क्षेत्र नम्बर २ मा ४९ हजार ६ सय मतदाता थिए । जिल्लाका १२ वटा दलका २४ उम्मेदवारहरु चुनाबी मैदानमा उत्रिएका छन् ।